काठमाडौं। मुलुकमा राजनीति र व्यवसाय सँगसँगै गर्नेलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाइँदैन। राजनीतिसँग व्यवसाय मिसाउँदा नीतिगत भ्रष्टाचार हुने गरेको अधिकांशको बुझाइ छ।
सरकारी संयन्त्रलाई प्रभावमा पारेर काम गर्ने र गराउने गरेको आरोप व्यवसायीमाथि लाग्ने गरेको छ। तर, जबसम्म आत्मनिर्भर भइँँदैन तबसम्म भ्रष्टचारजन्य काम रोकिँदैन र राजनीतिक क्षेत्रमा देखिएका विकृति हट्न सक्दैन भन्ने विषयमा बहस पनि चलिरहेको पाइन्छ।
यिनै बहसबीच राजनीति र व्यवसायलाई एकै रथमा कुदाइरहेका व्यक्ति हुन् नेपाली कांग्रेसका नेता दीपक खड्का।
राजनीति गर्दै रोजगारी सिर्जना गरेर सर्वसाधारणदेखि कार्यकर्तासम्मलाई आत्मनिर्भर बनाउन व्यवसाय गर्नुपर्छ भन्ने उनको सोच उनले हाल सञ्चालन गरिरहेका परियोजनाबाट बिस्तारै साकार हुने मोडमा पुगेको छ।
राज्यमन्त्रीसमेत भइसकेका खड्का कांग्रेस संखुवासभाका सभापति हुन्। खड्काले लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील रहँदै राजनीति पनि सँगै लिएर हिँडिरहेका छन्।
आफूमात्र होइन, आफूसँग हिँड्ने कार्यकर्तालाई समेत आत्मनिर्भर बनाउनुपर्छ र मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोचसाथ अगाडि बढेका खड्काले राजनीति र व्यवसाय दुवैमा सफलता हात पार्दै गएका छन्। उनी आगामी मंसिर ४ मा तय भएको प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्लाबाट उम्मेदवार बन्ने तयारीमा पनि लागिसकेका छन्।
खड्काले पछिल्लोपटक सयौं रोजगारी सिर्जना गरी अर्थतन्त्रमा थोरै भए पनि टेवा दिन करिब ३० अर्ब रुपैयाँ लगानी रहेका कम्पनी हाँकिरहेका छन्।
सन् १९९८ देखि पर्यटन क्षेत्रमा लागेका खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। अहिले उनले काठमाडौं र झापामा पाँचतारे स्तरका एक–एक होटल निर्माण गरिरहेका छन्। उता, ताप्लेजुङ र रसुवामा तीनवटा हाइड्रोपावर (जलविद्युत) आयोजानामा लगानी विस्तार गरेका छन्।
२५ अर्बको हाइड्रोपावर
खड्काले जलविद्युत क्षेत्रमा मात्र २५ अर्ब रुपैयाँबराबर लगानी ‘लिड’ गरिरहेका छन्। यो लगानी अझै केही बढ्न पनि सक्छ। उनले रसुवामा १ सय २० मेगावाटको लाङटाङ भोटेकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेका छन्। जसको लगानी २२ अर्बबराबर छ। चिनियाँ साझेदारसँगको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त आयोजनाको नेपालबाट खड्काले नेतृत्व गरिरहेका छन्। आयोजना दुई वर्षभित्र सक्ने तयारी छ।
१ अर्बको लागतमा ताप्लेजुङ पिलुवा खोलामा साढे पाँच मेगावाट मेन्छेमा हाइड्रोपावर निर्माण भइरहेको छ। यसको निर्माण सकिएर उत्पादन तयारीमा लागेको छ। योसँगै सोही खोलामा ७.८ मेगावाटको पिलुवा खोला हाइड्रोपावर पनि निर्माण भइरहेको छ। यसको लागत २ अर्ब ५० करोड रुपैयाँबराब छ। हाल त्यसको काम ५० प्रतिशत सकिएको र डेढ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ।
काठमाडौं र झापामा पाँचतारे होटल
खड्काले उर्जासहित पर्यटन क्षेत्रमा समेत आक्रमक लगानी विस्तार गरेका छन्। केही व्यावसायिक साझेदारीसहित मुख्य लगानीकर्ताका रूपमा खड्का आफंै अगाडि सरेर उनले एकैसाथ काठमाडौं बूढानीलकण्ठ र झापा धुलाबारीमा एक–एकवटा पाँचतारे होटल निर्माण गरिरहेका छन्।
२ अर्ब ६० करोड रुपैयाँ लगानीमा बूढानीलकण्ठमा निर्माण भइरहेको ‘फरेस्ट इन’ होटल सन् २०२३ जनवरीभत्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। १ सय ३ कोठा रहने होटल निर्माण कोभिडका कारण दुई वर्ष ढिला भएको हो। कोभिड र तरलता अभावको प्रभाव पनि होटलले झेलेको र आगामी तीन महिनाभित्र सञ्चालनमा आइसक्ने खड्काले जानकारी दिए।
काठमाडौंको धुलोधुँवाबाट मुक्त हुन नजिकको गन्तव्यका रूपमा बूढानीलकण्ठलाई लिइएको उनको भनाइ छ। ‘हरियाली वातावरणबीच बस्न रुचाउनेका लागि हाम्रो होटल उपयुक्त हुनेछ,’ खड्काले क्यापिटल नेपालसँग भने।
चक्रपथबाट १० किलोमिटर बाहिर रहेको उनको होटलबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ। त्योसँगै त्यहाँ रहेको विपश्यना ध्यान केन्द्र आउनेलाई पनि खान–बस्न सहज हुनेछ।
बूढानीलकण्ठ मन्दिर र गुम्बा घुम्न आउनेलाई पनि सहज हुने देखिन्छ। सहरमा काम गरिरहे दिक्क भएकालाई नजिकको गन्तव्य बूढानीलकण्ठ गएर खड्काको होटलमा बस्न उत्तम हुनेछ।
‘विदेशी पाहुना सहरको भीडभन्दा एकान्त रुचाउने भएकाले काठमाडौंमा नयाँ स्वाद दिन होटल बनाइरहेका हौं,’ खड्काले भने। विदेशमा प्रायः विमानस्थलबाट एकदेखि दुई घन्टा दुरीमा होटल भेटिन्छन् भने काठमाडौंमा १० किलोमिटर आसपासमा सुविधासम्पन्न पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ।
आफ्नो होटल स्वदेशी तथा विदेशी दुवै पाहुनाका लागि आकर्षणको केन्द्र बन्नेमा खड्का ढुक्क छन्। बूढानीलकण्ठमा होटल बनेपछि अमेरिकाको होटल ब्रान्ड ‘होलिडे इन’ ले व्यवस्थापन हेर्ने छ।
उनको होटल फरेस्ट इन कम्पनीमार्फत सञ्चालन हुनेछ। हाल होलिडे इनले नेपालको पहिलो पाँचारे होटल सोल्टीको व्यवस्थापन हेरिरहको छ।
खड्काले काठमाडौंमा मात्र होइन, प्रदेश १ मा पनि लगानी विस्तार गरेका छन्। विषेशगरी भारतीय र भारत हुँदै नेपाल आउने तेस्रो देशका पर्यटक लक्ष्य गरे झापा धुलाबारीमा अर्को पाँचतारे होटल निर्माण गरिरहेका छन्। दुई वर्षभित्र सञ्चालनमा आइसक्ने गरी काम भइरहेको होटल इस्टर्नमा २ अर्बभन्दा बढी लगानी गरिएको छ।
डेढ बिघा क्षेत्रफलमा निर्माण भइरहेको खड्काका होटलमा ८७ कोठा हुनेछ भने सुविधासम्पन्न क्यासिनोसमेत सञ्चालन हुनेछ। भारतीय सीमा नाका भएकाले क्यासिनो पर्यटक लक्ष्य गरिएको खड्काको भनाइ छ। उनले होटल व्यवस्थापनको जिम्मा कसलाई दिने भन्ने टुंगो लगाइसकेका छैनन्।
पर्यटन क्षेत्रमा आवश्यक पूर्वधारमध्ये सुविधासम्पन्न होटल पनि हुन् भन्ने निष्कर्षसाथ एकैचोटि दुईवटा पाँचतारे होटलमा लगानी विस्तार गरेको खड्का बताउँछन्।
दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र एउटा आउने अन्तिम चरणमा पुगिसकेकाले पनि स्तरीय होटलका आवश्यकता नेपालमा अझै देखिएको उनको भनाइ छ। विमानस्थलसँगै वायुसेवा कम्पनीहरूले उडान पनि थपिरहेका बेला पर्यटकलाई बसोबासका लागि उत्कृष्ट होटल निर्माण गर्ने सोच उनको छ।
राजनीतिसँगै आत्मनिर्भरता
अरूलाई गर भन्नुभन्दा पहिला आफूले गरेर देखाउने अनि त्यसपछि आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई त्यसैअनुसार अगाडि बढ्न प्रेरणा जगाउन सेवा क्षेत्रमा बढी क्रियाशील भएको उनले बताए।
राजनीति गरेरमात्र जीविकोपार्जन गर्न असहज हुने भएपछि वैकल्पिक पेसा रोज्न आवश्यक रहेको उनको भनाइ छ। ‘व्यवसाय गर्नु भनेको रोजगारी सिर्जना गर्नु हो,’ खड्का भन्छन्, ‘एकजना विदेशी पर्यटकबाट ६ जनालाई रोजगारी दिन सकिन्छ। र उसले सिधै डलर लिएर आउँछ। राजनीति भनेको सेवा हो तर, त्यही सेवाबाट धनआर्जन गर्छु भन्ने सपना देख्नु गम्भीर गल्ती हो।’