काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधानको हव नै बन्न थालेको छ। विषेश गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकाशीयसँगै विद्युतीय सवारी साधान प्रयोग गर्नेहरुको लर्को नै लाग्न थालेको छ।
उपभोक्ताहरुको विद्युतीय सवारी साधान प्रतिको मोहलाई देखेर विद्युतीय सवारीसाधान उत्पादनकर्ताहरुको नजर पनि नेपालमा पर्न थालेको छ। त्यसैको प्रभावस्वरुप अहिले विभिन्न ब्रान्डहरू एकपछि अर्को नेपालमा आइरहेका छन्।
चारपाङ्ग्रे गाडीसँगै दुई पाङ्ग्रेहरु पारखीहरुका लागि लक्षित गरी नेपाली बजारमा बुधबारबाट ओलाका दुई ब्रान्डका स्कुटर सार्वजनिक हुने भएको छ। भारतको चर्चित राइड एन्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडल चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरल सार्वजनिक गर्र्ने भएको हो।
दुवै एस वान र एस वान प्रो स्कुटरमा समान ८.५ किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ। यी दुवै स्कुटरको टर्क पनि समान ५८ एनएम छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर रहेको छ। एस वान प्रोमा ठूलो ब्याट्री रहेको कारण रेन्ज पनि धेरै दिन्छ। बुधबार सार्वजनिक हुने भनिएपनि हालसम्म आधिकारीक रुपमा सो स्कुटरहरुको मूल्य भने खुलाएका छैनन् । तर,प्रारम्भीक मूल्य अनुसार एस वान स्कुटरको मूल्य ३ लाख ७५ र एस वान प्रोको ४ लाख ५० हजार पर्ने छ।
दुवै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ। १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिने सीजी मोर्टरसले उपलब्ध गराएको ब्रुसरमा उल्लेख छ। दुवै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ। दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ। यी स्कुटरले भारतमा एकै दिन एक लाख यूनिट बुकिङ भएर चर्चा कमाएको थियो।
स्कुटर र मोटरसाइकल पारखीहरुका लागि उपयुक्त हुने र उनिहरुको रोजाईमा पर्न सक्ने कम्पनीको विश्वास छ। आकर्षक भिचरका कारण धेरै युवायुवतीहरुले यो स्कुटर मनपराउने जनाएको छ। नेपालका कुन कुन क्षेत्रमा यो स्कुटरको डिलर रहने भन्ने खुलाएको छैन।