काठमाडौं । दशैं अगावै काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने भनिए पनि सडकको अवस्था उस्तै छ । केही ठाउँमा झारा टार्ने गरी टालटुल बाहेक उपत्यका भित्रका अधिकांश सडकको दुरावस्था फेरिएन् । जसका कारण, दशैंका बेला हुने सवारी जामले आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई सास्तीको दिएको छ ।
काठमाडौं उपत्यका सडक सुधार आयोजनाले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने भने पनि सडक पुरिएनन् । दैनिक भइरहेको बर्षाले सबै सडकको मर्मत र खाल्डाखुल्डी पुर्न सक्ने अवस्था नभएको आयोजना प्रमुख अर्जुन अर्यालले बताए ।
‘दैनिक आकासमा बादल छ । छिनभरमै पानी खसिहाल्छ’ उनले भने, ‘ग्राभेलवालामा कुनै समस्या नभए पनि पिच सडकमा भने पानी परेको बेला काम गर्न सक्ने अवस्था हुँदैन ।’
उनले बर्षाकै कारणले सडक मर्मत र खाल्डा पुर्ने काममा अवरोध पुगेको स्वीकारे । ‘बर्षा नै मुख्य कारण हो । जनताले पनि यसलाइ बुझिदिनुपर्छ’ उनले भने, ‘तर, काम अहिले पनि भइरहेको छ । आज काम गर्र्यो, भोली पानी आएर बिगार्छ । त्यसले गर्दा काममा बाधा पुगेको हो । कोशिस नगरेको पक्कै हैन ।’
केही दिनअघि नागढुङ्गा पुलिस चौकी आसपासमा केही ठूला खाल्डाकै कारणले नौविसेदेखि नागढुंगासम्म दुइदिन ठूलो जाम भयो । त्यहाँ खाल्डाहरु अझै पुरिएका छैनन् । नागढुंगादेखि कलङ्कीसम्म अधिकांश ठाउँमा खाल्डाखुल्डीकै कारणले जाम र सास्ती हुने गरेको छ ।
यता, चाबहिल—जोरपाटी—बौद्ध सडक खण्डमा खाल्डाखुल्डी मात्रै होइन् । बर्षा हुनासाथ खाल्डाखुल्डीमै पानी जम्ने तथा हिलोमै सवारी गाडिनुपर्छ । बानेश्वर, गोङ्गबु, कलंकी, थली, सोह्रखुट्टे, बालाजु, चक्रपथ, कोटेश्वर र अन्य भित्री सडकका खाल्डाखुल्डीको जोखिम छ ।
धुँलो र हिलो पनि उस्तै
खाल्डाखुल्डी मात्रै होइन् । पानी पर्नासाथ सडकमा हिलो हुने र पानी रोकिएर घमाइलो हुनासाथ धुलो उड्दा पनि अहिले उपत्यकाबासीले यात्रा गर्दा दुःख पाइरहेका छन् । घाम लागेको बेलामा कलंकीदेखि बालाजुसम्म यात्रा गर्दा मान्छे धुलो नचिन्ने अवस्था हुने गरेको बालाजुका एक स्थानीय सन्तोष क्षेत्रीको अनुभव छ ।
पानी परेको बेला सडकमै खोला बग्ने सास्तीले धेरै पटक बाइक पल्टिएर समस्या खेप्नुपरेको तितो गुनासो उनको छ । ‘पानी पर्दा सडकमै ताल पर्छ । हिलोले हिडिसक्नु हुदैन्’ उनले भने,‘कतिपटक त म आफै लडेको छु ।’
बढ्दो सवारी चापले दिनमै हुन्छ जाम
अहिले दशैं लागेकाले उपत्यकाबाट बाहिरिने र किनमेल गर्नेको ठूलो भीड हुने नै भयो । जसका कारण, पछिल्लो दुईदिनदेखि न्युरोड, असन, सुन्धारा, जमल, ठमेल, पुतलीसडक र दरबारमार्ग लगायतका व्यापारिक केन्द्र तथा मुख्य सडकमा सवारी जाम हुँदै गएको छ ।
दिनमै जाम हुन थालेपछि अहिले ठाउँ ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । दशैंका बेला हुन सक्ने दुर्घटना जोखिम, लुटपाट हुन नदिन ट्राफिक प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।
उपत्यका छाड्ने र किनमेल गर्ने कारण पनि ट्राफिक जाम बढेको र त्यस्को व्यवस्थापनका लागि पर्याप्त जनशक्ति परिचालन भएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम ढकालले बताए । उनका अनुसार, पछिल्लो एक हप्ता अर्थात शनिबारसम्म काठमाडौं भित्रिनेभन्दा बाहिरीनेको संख्या बढेको छ ।
एक साताको अवधिमा ८० हजार काठमाडौं भित्रिए भने ८८ हजार ८०० बाहिरिएका छन् । दशंैको पहिलो दिन घटस्थापना अर्थात आज एकैदिन डेढ लाख जना काठमाडौं बाहिरिएको प्रहरीको तथ्यांक छ ।