काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन्। त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनैतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने उनले बताएका हुन् ।
पालुङ्टारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै संघीय सरकार र अर्थमन्त्रालयबाट यसको लागि सम्पूर्ण सहयोग हुने उनले बताए। 'स्मार्ट सिटीमा गरिबी र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्धिको उचाइ पनि हासिल गर्नेछ।' उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्नेमा पनि जोड दिए।
'नजिकै नदी बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ। यसका लागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ, बजेट खर्च गर्दै कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु' मन्त्री शर्माले पालुङ्ग्टारमा उपस्थित स्थानीय जनतालाई सम्बोधन गर्दै भने ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तीका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको उनले बताए। नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएरअघि बढेको बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओबादी सरकारले ल्याएको पनि स्मरण गराए।
संघीयता कार्यन्वयनका लागि दलहरूबीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफूलाई यो चिन्ह मन परेन, सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन शर्माले भने। यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठूलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाई मजबूत बनाउँदै समाजवादको दिशामा अगाडि बढ्नको लागि भएको उनले बताए।
संघीयतालाई स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनकाे भनाइ छ । पालुङ्टारमा बसेर विकास भएन , हामीलाई विकास चाहियो भनेर भन्न पाउनु संघीयताको उपलब्धि भएको पनि उनले बताए। संघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व राजनैतिक पार्टीहरूको अस्थित्व भएकाे उनकाे भनाइ छ ।
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरू सकरात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको उनले बताए । बैंकमा ब्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको स्पष्ट पार्दै सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।
दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनका लागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार पालुङ्टार पुगेका थिए । लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष मानबहादुर आलेले जानकारी दिए ।