काठमाडौं। राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट विद्युत उत्पादन हुने समय फेरि सरेको छ। यसअघि एकपटक असार मसान्त र अर्कोपटक दसैंसम्म बिजुली बाल्ने योजना बनाएको आयोजनाले फेरि तेस्रोपटक नयाँ मिति तोकेको हो।
हाल तोकिएको मितिअनुसार आगामी चैतबाट राष्ट्रिय प्रशारण लाइनमा रानीजमराले पाँच मेगावाट बिजुली पठाउने छ। इलेक्ट्रिकल र हाइड्रोमेकानिकल काम नसकिँदा विद्युत उत्पादन हुने समय लम्बिएको आयोजनाको भनाइ छ।
‘आफूले भनेको जस्तो नहुने रहेछ, नसोचेको–नसोचेको समस्या मेसिनमा आउने रहेछ। म आफू पनि धेरै म्याद सार्दासार्दै दिक्क भइसकेको छु,’ पटक–पटक विद्युत उत्पादन समय लम्बिँदै गएको विषयमा रानीजमरा सिँचाइ आयोजना प्रमुख केदारकुमार श्रेष्ठले क्यापिटल नेपालसँग भने।
आयोजनाका सूचना अधिकारी प्रेम लासिवाका अनुसार बिजुली उत्पादन युनिटमा मेकानिकल समस्या देखिएका कारण आयोजना निर्माण कार्यमा बाधा पुगेको हो।
‘आयोजनाको बिजुली उत्पादन युनिटमा समस्या आएको छ, सँगै इलेक्ट्रिक पार्टहरूमा पनि केही मर्मत गर्नुपर्ने भएकाले चैतसम्ममा विद्युत उत्पादन हुने अनुमान गरिएको हो,’ लासिवाले भने।
थपियो विद्युत उत्पादन म्याद
रानीजमरामा जलविद्युत निर्माणको काम नेपालको तुँदी र भारतको फिउ कम्पनी जेभीले गर्दैछन्। निर्माण कम्पनीको म्याद गत साउन २६ मा सकिएको थियो।
तर, निर्माणको काम नसकिएका कारण म्याद थप गरेर चैतसम्म पु¥याएको आयोजना प्रमुख श्रेष्ठले बताए। निर्माण कम्पनीको म्याद चैतसम्म रहेकाले त्यसबेलासम्म बिजुली बल्ने उनको भनाइ छ। उत्पादनको म्याद सरे पनि लागत रकममा फेरबदल नभएको सूचना अधिकारी लासिवाको भनाइ छ।
रानीजमरा सिँचाइ आयोजनाबाट कूल ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ। जसलाई पहिलो र दोस्रो चरणमा काम गर्ने आयोजनाले जनाएको छ।
हाल पहिलो चरणअन्तर्गत २० हजार ३ सय हेक्टर क्षेत्रफलको निर्माण कार्य सञ्चालन भइरहेको छ। जसको म्याद आर्थिक वर्ष २०८०/८१ सम्म छ।
दोस्रो चरणको गुरु योजना चैतमा
आयोजनाको दोस्रो चरणबाट १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ। दोस्रो चरणको गुरुयोजना आगामी चैतसम्म तयार गरेर सिँचाइ विभागमा पेस गर्ने सूचना अधिकारी लासिवा बताउँछन्।
यस्तै काम सुरु भएपछि करिब आठ वर्षमा निर्माण सक्ने लक्ष्य रानीजमराको छ। तर, हालसम्म दोस्रो चरणको गुरुयोजना तयार भएको छैन।
पहिलो चरणको निर्माण कार्य सकिएपछि मात्रै दोस्रो चरणको काम गर्नुपर्ने बाध्यता भने छैन। गुरुयोजना तयार भएर स्वीकृत भए दुवै चरणको काम सँगसँगै गर्न सकिने आयोजनाको भनाइ छ।
रानीजमरामा नेपाल सरकार र विश्व बैंकको लगानी छ। आयोजना निर्माणमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत २ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएको छ। उक्त बजेटमध्ये ८० प्रतिशत रकम विश्व बैंकको हो।
रानीजमरा पहिलो चरणको काम गर्न २७ अर्ब ७५ करोड रुपैयाँ बजेटमध्ये १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आर्थिक वर्ष २०८०/८१ सम्म पहिलो चरणको निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहेको छ।
तर, आयोजनाले उक्त समयमा निर्माण पूरा नहुने जनाइसकेको छ। यद्यपि, पहिलो चरणका लागि म्याद थप भएको छैन।
पश्चिम कैलालीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६७÷६८ देखि आयोजना निर्माण सुरु भएको थियो। असार मसान्तसम्म पहिलो चरणअन्तर्गत ५५ प्रतिशत भौतिक प्रगति भएको छ।