काठमाडौं। सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरणका सुरेश ठाकुरले देखाएका छन् । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका छन्।
त्यसो त उनका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन्। अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन्। यो सबै ठाकुरको मेहनतको कमाइ हो। कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लागेका हुन्। स्थानीयस्तरमा काम सिकेर छ महिना उनले भारतको दिल्ली पुगेर तालिम लिएका हुन्।
विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उनले कपाल काट्न सुरू गरे। त्यतिबेला उनको उमेर १८ वर्षको थियो। उनले भने, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उनी अहिले केही पर सरेका छन्।
यहाँ आएर सुरूमा नै आफैँले व्यापार थालेको उनी संम्झन्छन्। त्यतिबेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो। अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ। त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उनलाई अनुभव छ।
अहिले यो संख्या ३०/३५ छ। आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उनीमा जाग्यो। यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो। सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किने।
सोही घडेरीमा उनको तीन तलाको घर ठडिएको छ। ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थालेका छन्। कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गरेका छन्। उनका छोरी कक्षा १२ पढ्दै छिन्। अहिले पनि निरन्तर कपाल काट्दै आएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउँछन्।
जीवनको झण्डै तीन दशक यो पेसामा संघर्षरत ठाकुरले भने, ‘मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन।’ कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो। अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ। छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उनी बताउँछन्।