काठमाडौं।अरुणिमा कलेजकाे आयाेजनामा एक दिने रोजगार मेला सम्पन्न भएकाे छ।
भर्खरै कलेज पास गरेका विद्यार्थीहरू र रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले कलेजले साेमबार मेला आयोजना गरेकाे हाे।
कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६ सयभन्दा बढी युवाहरूको सहभागिता रहेकाे थियाे। मेलामा सहभागी कम्पनीहरूले आवेदकहरूको व्यक्तिगत विवरणहरू संकलन गरि आफूलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया सुरू गरेको बताए।
कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गरे। मेलामा सूचना तथा प्रविधि, बैकं तथा वित्तीय संस्था, फुड एन्ड बेभरेज, तयारि पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षालगायतका क्षेत्रका कम्पनीहरूको सहभागी रहेकाे थियाे।
कलेजका प्राचार्य केशव जोशीले रोजगार मेलामा युवाहरूको सहभागिताले कलेजलाई हौस्याएको बताए। कम्पनीका प्रतिनिधिहरूसँग आवेदन दिएकाे उनले बताए। कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेकालाई रोजगारदाता कम्पनीसँग जोड्नु भएकाे बताउँदै जोशीले मेलालाई कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताए।
त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेलामा सहभागी युवा र रोजगारदाता कम्पनी दुवैलाई फलदायी भएको बताए। सहभागी कम्पनीले आफूलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया सुरू गर्न पाए भने भर्खरै कलेज सकाएका विद्यार्थी र कामको खोजीमा रहेका कर्पोरेट क्षेत्रमा हुने काम नजिकबाट बुझ्न पाएकाे उनकाे भनाइ छ।
फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र विभिन्न मनोरन्जात्मक गतिविधिहरू मेलाका अन्य आकर्षण थिए। अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम सञ्चालन गरिरेको छ।