काठमाडौं। विद्युतीय सवारी साधन (इभी) प्रयोग गर्नेको संख्या बढेसँगै व्यवसायीले त्यसलाई उत्सवका रूपमा मनाउने भएका छन्। खासगरी विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै इन्धन विस्थापन गर्दै इभी प्रयोग बढाउने लहर लागेको छ। र, यो लहरको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहने कुरै भएन।
नेपालमा केही वर्षदेखि नै इभी प्रयोग हुन थालेको हो। विशेषगरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पहिलोपटक यसपालि ‘नाडा इभी एक्स्पो २०२२’ आयोजना गर्दैछ ।
इभी र विद्युतीय सामानमात्र अवलोकन गर्ने गरी असोज ६ देखि ९ सम्म काठमाडौं भृकुटीमण्डपमा एक्स्पो आयोजना हुन लागेको हो।
नाडाले कोभिडअघि हरेक वर्ष अटो शो आयोजना गर्दै आएको थियो। गएका वर्ष इभीलाई एक्स्पोमा राखिए पनि इभीलाई मात्र प्राथमिकता दिइएको यो पहिलोपटक हो।
सरकारले गत वैशाखदेखि पेट्रोलियम गाडी आयातमा रोक लगाएको छ। त्यसैको प्रभावस्वरूप अहिले इभी एक्स्पो आयोजना गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए। तीन दिनसम्म चल्ने एक्स्पोमा इभी प्रदर्शनी हुनुका साथै असोज ७ देखि ९ सम्म गोष्ठीसमेत सञ्चालन हुनेछ।
एक्स्पोका विशेषता
नाडा इभी एक्स्पोमा विभिन्न खालका इभी देख्न पाइने छ। त्योसँगै आफूलाई मनपरेका गाडी बुकिङ गर्न सकिने छ। चारपाङ्ग्रे, तीनपाङ्ग्रे र दुईपाङ्ग्रे इभी र तिनलाई आवश्यक सामग्री अवलोकन गर्न सकिन्छ।
एक्स्पोमा राख्न निर्धारण गरिएका इभीमध्ये सबैभन्दा सस्तो सिटी स्पिरिटको मूल्य न्यूनतम १७ लाख ८५ हजारदेखि १८ लाख ८५ हजार रुपैयाँसम्म छ ।
त्यसैगरी एक्स्पोमा टेस्ला कम्पनीको २ करोड ६५ लाख रुपैयाँसम्मको गाडी हेर्न पाइन्छ। सिटी स्पिरिट श्री इकोभिजनरी प्रालिमार्फत इभी अटो शोमा राखिने छ । त्यस्तै टेस्ला ब्रान्डको गाडी आरती इन्टरनेसनलले राख्ने भएको हो।
महँगो गाडीका रूपमा लिइएको टेस्ला ब्रान्डको गाडीको न्यूनतम मूल्य १ करोड २५ लाखदेखि अधिकतम २ करोड ६५ लाख रुपैयाँसम्म छ।
ग्याजेटगाडी डटकमकाअनुसार टेस्ला मोडल ३ को मूल्य १ करोड २५ लाखदेखि १ करोड ६७ लाख, मोडलवाईको १ करोड ६५ लाखदेखि १ करोड ९५ लाख, मोडल एक्सको २ करोड ४५ लाखदेखि २ करोड ८५ लाख र मोडल एसको २ करोड २५ लाखदेखि २ करोड ६५ लाखसम्म निर्धारण गरिएको छ।
सिप्रदी ट्रेडिङको टाटा मोटर्सले तीन मोडलका गाडी राख्ने भएको छ। टाटा टियागो एक्स जेटको मूल्य ३२ लाख ९९ हजार, टाटा एक्सजेट प्लसको ३७ लाख ९९ हजार र टाटा एक्स जेट एको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ।
लक्ष्मी इन्टरनेसनल प्रालिको हुन्डाई इलेक्ट्रिक कार पनि नाडा इभी अटो शोमा रहने छ। हुन्डाईले हाल इभीतर्फ कोना कार बिक्री गरिरहेको छ। यसको न्यूनतम मूल्य ५६ लाख ९६ हजारदेखि ७१ लाख ९६ हजार निर्धारण गरिएको छ।
सिजी मोटर्स प्रालिले राख्ने निटा भीको न्यूनतम मूल्य ३७ लाख ९९ हजार तोकिएको छ। सिमेक्स इन्टरनेलिन प्रालिले राख्ने बिवाइडी गाडीको न्यूनतम मूल्य ५७ लाख ५० हजार निर्धारण गरिएको छ।
सिजीको चांगन मोडलको गाडीको भाउ ६६ लाखदेखि ७५ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। एनइभी नेपाल प्रालिमार्फत अटो शोमा राखिने जेएसी ब्रान्डको पिकअप भ्यानको न्यूनतम मूल्य ७२ लाख रुपैयाँ निर्धारण गरिएको छ।
इकोभिजनरी प्रालिकै अर्को गाडी लङमा ब्रान्डको मूल्य भने सार्वजनिक गरिएको छैन। यस्तै तीनपाङ्ग्रे गाडीका रूपमा अग्नि इनर्जी प्रालिले ट्रायो गाडीको न्यूनतम मूल्य ८ लाख ४० हजार तोकिएको छ।यो मूल्य गत आर्थिक वर्षको भन्सार दरको आधारमा हो। नयाँ भन्सार दरलाई आधार मान्दा उल्लेखित मूल्यमा गाडी पाइँदैन।
नबिल बैंकले तत्कालै कर्जा स्वीकृत प्रमाणपत्र दिने
नाडा इभी एक्स्पो लक्ष्य गरी नबिल बैंकले आकर्षक योजना ल्याएको छ। बैंकले चाडपर्व लक्ष्य गर्दै इभी कर्जाको विशेष योजना ल्याएको हो।
बैंकले एक्स्पोमा सहभागी हुँदै ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने घोषणा गरेको छ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकाले यस्तो आकर्षक अफर ल्याएको बैंकले जनाएको छ।
नाडा इभी एक्स्पोअन्तर्गत बैंकको स्टल नं. जी १२ मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी कर्जा स्वीकृतिपत्र सर्त लागू हुने गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ।