काठमाडौं। बैंकर्स संघले निक्षेपको ब्याजदर बढाउन वा घटाउन बाटो खोलेपछि बैंकहरूबीच बढेको ब्याजदरमा चरम प्रतिस्पर्धा सुरु भएको छ।
संघले भदौ अन्तिम साता ब्याजदर नियन्त्रण गर्ने पूर्वभद्र सहमति थाँती राख्दै बैंकहरूलाई प्रतिस्पर्धाको बाटो खोलिदिएपछि बढेको ब्याजदरमा चरम प्रतिस्पर्धा देखिएको हो।
अरू त ठिकै हो, बैंकहरूले दशमलवपछिका अंकमा समेत प्रतिस्पर्धा गर्न थालेका छन्। जस्तो, यसअघि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत रहेको ब्याजदरमा १० प्रतिशतले बढाउँदा १२.१३३ प्रतिशत हुन्छ। सामान्य अर्थमा त्यो भनेको १२.१३ नै हो। तर, बैंकहरूले ब्याजदर प्रकाशित गर्दा दशमलवपछि तीन अंकसहितको नयाँ ब्याजदर प्रकाशित गरेका छन्।
सुरुमा कतिपय बैंकले दशमलवपछि दुई अंकमात्रै राखेको भए पनि कतिपय बैंकले तीन अंक राखेर ब्याजदर प्रकाशित गरेपछि दुई अंकमात्रै राख्ने बैंक दबाबमा परेका थिए। त्यसपछि उनीहरूले पनि पुनः दशलमवपछि तीन अंककै ब्याजदर प्रकाशित गरेका छन्।
ब्याजदरमा चर्को प्रतिस्पर्धा देखिएपछि केन्द्रीय बैंकले नै गत वर्ष सम्बन्धित बैंकको ब्याजदर औसत १० प्रतिशत र त्यसपछि समग्र प्रणाली (समूह: वाणिज्य, विकास र वित्त कम्पनी) को ब्याजदर औसतमा १० प्रतिशतले मात्रै वृद्धि गर्न पाउने नियम बनाएपछि अहिले सबै बैंकका ब्याजदर सेगमेन्टअनुसार समान देखिएको छ। समान ब्याजदर भएकै अवस्थामा पनि बैंकहरू दशमलव पछिका अंकमा प्रतिस्पर्धामा उत्रिएका छन्।
सामान्यतयाः नेपालमा दशलमवपछि दुई अंकमात्रै प्रयोग गर्ने चलन छ। दशमलवपछि तेस्रो अंक ५ भन्दा ठूलो भए अघिल्लोमा १ जोड्ने र ५ भन्दा सानो भए शून्य मान्ने चलन छ।
जस्तो, अहिले बैंकहरूले १२.१३३ प्रतिशत ब्याजदर सार्वजनिक गरेका छन्। सामान्य हिसाबमा बुझ्दा यो भनेको १२.१३ नै हो। तर, बैंकहरूले १२.१३३ सार्वजनिक गरेर त्यसैअनुसार ब्याज दिन थालेका छन्। बैंकहरू बिस्तारै दशमलपपछिको अंक बढाएर निक्षेपकर्तालाई लोभ्याउने ‘प्रपञ्च’ मा लागेका छन्।
राष्ट्र बैंक, वित्तीय संस्था र अन्य सरोकारवालाका कुरा सुन्दा ब्याजदर अझै बढ्छ। राष्ट्र बैंककै नियमअनुसार १० प्रतिशत बढ्दा अर्कोपटक ब्याजदर दशमलवपछि ४ अंकमा जान्छ।
जस्तो, अहिले रहेको १२.१३३ प्रतिशत ब्याजदरको १० प्रतिशत भनेको १.१२३३ प्रतिशत हुन्छ। त्यसमा १२.१३३ प्रतिशत जोडिन्छ। त्यो भनेको १३.३४६३ प्रतिशत हुन जान्छ। यसैगरी ब्याजदर बढ्दै जाने हो भने दशमलवपछि कति अंकलाई अन्तिम मान्ने भन्ने बहसको विषय बनेको छ।
उपभोग घटाउन ब्याजदर वृद्धिलाई अस्त्र बनाएको केन्द्रीय बैंकले लिएको नीतिका कारण आगामी दिनमा थप बढ्ने अनुमान छ। यो अस्त्र नेपालमा मात्रै नभएर विश्वभरि प्रयोग गरिन्छ। र, अहिले विश्वका केन्द्रीय बैंकहरूले आफ्ना नीतिगत दर बढाएर बैंकहरूलाई ब्याजदर बढाउन अनुमति दिइरहेका छन्।
सबैको चासो उपभोग घटाउनेमै छ। त्यो भनेको कर्जा कम जाओस् र आयात कम होस् भन्ने नै हो। अझ नेपालजस्तो आयातनिर्भर अर्थतन्त्रमा ब्याजदरले महत्वपूर्ण भूमिका खेल्छ।
निक्षेपको ब्याजदर बढ्नु भनेको अन्ततः कर्जाको ब्याजदर पनि बढ्नु हो। कर्जाको ब्याजदर बढ्दा कर्जाको माग कम हुने र त्यसले उपभोग्य वस्तुको माग घटाइ आयातित अर्थतन्त्रमा समग्र आयात निरुत्साहित हुन्छ भन्ने मान्यता हो।