काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज अन्तिम साता भएको नेपाल भ्रमणमा ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशय जलविद्युत आयोजना नेपाली लगानीकर्ताको साझेदारीमा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाइना) ले बनाउने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भयो।
उक्त आयोजना बनाउन नेपाली साझेदार हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) रहेको छ। सोही वर्षको माघ ५ गते लगानी बोर्ड र पावर चाइनाबीच आयोजना अघि बढाउने विषयमा एमओयु भयो । पावर चाइनाको ४९ र एचआईडिसिएलको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरि सम्झौता भएको छ ।
त्यसबेला दुई वर्षभित्र आयोजनालाई निर्माणको चरणमा पुर्याउने भनिएको थियो । एमओयुमा हस्ताक्षर गर्ने लगानी बोर्डका तत्कालिन प्रमखु कार्याकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी अहिले नेपाल राष्ट्र बैंकको गभर्नर छन ।
एमओयु भएको चार वर्ष बितिसक्दा पनि तमोर जलाशयको प्रारम्भिक काम पनि अघि बढ्न सकेको छैन। पावर चाइनाले प्रारम्भिक अध्ययनबाहेक केही काम अघि बढाएको छैन।
त्यसैगरी लगानीका लागि समन्वय गर्ने निकाय लगानी बोर्डले पनि अहिले चासो दिएको छैन। तमोर जलाशय बनाउन एमओयु गरेको पावर चाइनाले इन्डोनेसियामा ठूलो जलविद्युत आयोजना निर्माण थालेको छ।
तमोर जलाशय आयोजनामा प्रगति नभएका बेला पावर चाइनाले इन्डोनेसियाको बोर्नियो टापुमा लामो समयदेखि ढिलाइ भएको ९ हजार मेगावाट (९ गिगावाट) क्षमतायुक्त जलविद्युत आयोजना निर्माण सुरु गरेको हो। जसमा हरित उद्योगहरू पनि विकास गर्ने योजना छ।
इन्डोनेसियाको कायान हाइड्रो इनर्जीले बोर्नियोको उत्तरी कालिमान्तान प्रान्तमा कायान नदी किनारमा कायान क्यास्केड परियोजनाका लागि सडक पहुँच निर्माण गरिरहेको छ। अहिले सडकबाट साइटमा पुग्न पहुँच सडक नभएपछि कम्पनीले नदीमा डुंगामार्फत भारी उपकरण ढुवानी गर्नुपर्ने जनाएको छ।
सडकमा धेरै चट्टानी भूभागमा विष्फोट गर्न र नदी बहावका लागि डाइभर्सन च्यानल निर्माण गर्न प्रयोग हुने विष्फोटक राखिनेछन्। कम्पनीका कार्यकारीहरूले विष्फोटक पदार्थ भित्र्याउन र प्रयोग गर्नुअघि इन्डोनेसियाको राष्ट्रिय प्रहरीबाट अन्तिम स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ।
‘हामीले डाइभर्सन च्यानल ब्लास्ट गरिसकेपछि अर्को वर्ष सुरुवातमा आयोजना निर्माण थाल्ने छौं। त्यसपछि हामी बाँध निर्माण पनि सुरु गर्नेछौं,’ केएचईका निर्देशक एन्ड्रयु सूर्यालीले भने।
कायान क्यास्केड परियोजनाले अन्ततः ९ गिगावाटको संयुक्त विद्युत उत्पादन क्षमतासाथ पाँच बाँध समावेश गर्ने छ। जसले यसलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो जलविद्युत स्टेसन बनाउने छ।
परियोजनाको लागत ३५ अर्ब अमेरिकी डलरबराबर छ। आगामी सन् २०३५ सम्म आयोजना पूर्णक्षमतामा सञ्चालन गर्ने योजना छ।
९ सय मेगावाट क्षमताको पहिलो बाँध केयान–१ बाट २०२६ सम्ममा बिजुली उत्पादन सुरु गर्ने अपेक्षा छ। अन्तिममा पूरा हुने योजना केयान–५ हुनेछ। जसमा पाँच बाँधमध्ये सबैभन्दा ठूलो क्षमता ३–३ हजार मेगावाटको छ।
केएचईका निर्देशक सूर्यालीले अन्तिम डिजाइन पावर चाइना ह्वाडोङले सिनो हाइड्रोले इन्जिनियरिङ खरिद र निर्माण जिम्मा लिएको बताएका छन्।
दुवै सरकारी स्वामित्वमा रहेको पावर चाइनाको एक हिस्सा हुन्। जुन देशको राजधानी जकार्तालाई पश्चिम जाभा प्रान्तको राजधानी बान्डुङसँग जोड्ने इन्डोनेसियाको पहिलो उच्च गतिको रेलवे निर्माणमा पनि संलग्न छ।
बेइजिङको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स इन्फास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट प्रोजेक्ट’ वेबसाइटका अनुसार पावर चाइनाले २००८ मा कायन नदीको जलविद्युत क्षमता अध्ययन गर्न थालेको थियो। केएचईले २०११ मा आयोजनाका लागि मुख्य अनुमति प्राप्त गरेको सूर्यालीले बताए।
तर, यस क्षेत्रको कठिन भूभाग कमजोर आधारभूत पूर्वाधार र कर्मचारीतन्त्रका अवरोधका कारण काममा ढिलाइ भएको छ। २०१२ मा पूर्वी कालिमान्तनबाट छुट्टिएर उत्तरी कालिमान्तन नयाँ प्रदेश बनेपछि दर्जनौं स्वीकृति लिन १० वर्ष लागेको सूर्यालीले बताए। जसमा वन जग्गा प्रयोग, वातावरणीय प्रभाव विश्लेषण र बाँध निर्माण अनुमति दिइएको छ।
गत वर्ष इन्डोनेसियाले २०६० सम्ममा नेटशून्य कार्बन सोसाइटी बन्ने प्रतिज्ञा गरेपछि यो परियोजनाले अन्ततः गति लिइरहेको छ। यसले इन्डोनेसियालाई कच्चापदार्थ निर्यातकर्ताबाट औद्योगिक राष्ट्रको स्थितिमा परिवर्तन गर्न मद्दत गर्ने छ।
त्यसैले उत्तर कालिमन्तनप्रति सरकारको ठूलो आसा छ। प्रान्तबाट बग्ने ठूला नदीबाट २३ हजार मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने स्थानीय अधिकारीले बताएका छन्। जसले कोइलामा धेरै निर्भर हुने इन्डोनेसियालाई स्वच्छ ऊर्जा प्रदान गर्ने छ। पूर्व कालिमन्तनमा इन्डोनेसियाले आफ्नो नयाँ राजधानी नुसान्तारा ३१ अर्ब डलरबराबर लागतमा निर्माण गर्ने छ।
डिसेम्बर अन्तिममा राष्ट्रपति जोको बिडोडोले तान्जुङ सेलोरबाट कारमा दुई घन्टा टाढा तटीय क्षेत्रमा हरित औद्योगिक परिसर कालिमन्तन औद्योगिक पार्क शिलान्यासमा सरिक भएका थिए।
कायान हाइड्रो इन्डोनेसियाको कोइला खानी एड्रो इनर्जीको नेतृत्वमा रहेको निजी कन्सोर्टियम हो। जसले कम्प्लेक्समा ७२ करोड ८० लाख डलरको एलुमिनियम स्मेल्टर निर्माण गरिरहेको छ। सुरुमा औद्योगिक पार्क १६ हजार हेक्टरमा फैलिने छ र ३० हजार हेक्टरमा विस्तार हुने सम्भावना छ।
निकट अवधिका लागि कायनले केएचईछेउ अर्को हरित औद्योगिक पार्कका लागिमात्र बिजुली आपूर्ति गर्ने योजना बनाइरहेको छ। जुन यसको सम्बद्ध इन्डोनेसिया रणनीति उद्योगद्वारा विकसित हुनेछ।
त्यहाँ एलुमिनियम, एमोनिया, हाइड्रोजन, ब्याट्री र विद्युतीय सवारीसाधन उत्पादक पनि छन्। ती सबै चिनियाँ र इन्डोनेसियाली कम्पनीका संयुक्त उद्यम हुन्। जसमा ग्रिन एमोनिया इन्डोनेसिया, एलुम इना इन्डोनेसिया र निकेल उद्योग इन्डोनेसिया छन्। कयान–१ कम्प्लेक्समा बिजुली पु¥याउन थालेपछि कम्पनीहरूले सञ्चालन सुरु गर्ने अपेक्षा छ।
आइएसआईले औद्योगिक पार्कको २ हजार ५ सय हेक्टर जग्गा अधिग्रहण गरेको छ। जसलाई ४ हजार ७ सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ। घटनास्थलमा काम भइरहेको सूर्यालीले बताए।
अर्को कम्पनी कायान हाइड्रोपावर नुसन्तारा उत्तर कालिमान्तनमा आधारित व्यवसाय र मलेसियाली युटिलिटी सारवाक इनर्जीको संयुक्त लगानीले केआइपिआईलाई बिजुली आपूर्ति गर्न १ हजार ३७ मेगावाटयुक्त जलविद्युत निर्माण गर्ने छ। उक्त स्थानमा १० हजार मेगावाट क्षमता (१० गिगावाट) को सोलार प्लान्ट पनि बनाउने योजना छ।
(निक्की एसियाको सहयोगमा)