काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच जारी ‘तिक्ततापूर्ण सम्बन्ध’ सुधारको संकेत देखिएको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सवमा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी एउटै सोफामा बसेर करिब तीन मिनेट भलाकुसारी गरे।
उनीहरूले ड्यासमा रहेको एउटै सोफामा बसेर ‘मुख जोडाजोड’ गरी तीन मिनेट कुराकानी गरेको देखेपछि उपस्थितहरू अचम्म मानेका थिए।
कोषको वार्षिकोत्सवमा प्रमुख अतिथि अर्थमन्त्री शर्मा र विशेष अतिथि गभर्नर अधिकारी केही मिनेटको अन्तरालमा प्रदर्शनमार्गस्थित राष्ट्रिय सभागृहत हलमा पुगेका आइपुगेका थिए।
एकैचोटि ड्यासमा भेट हुनासाथ अर्थमन्त्री र गभर्नर एउटै सोफामा बसेर भलाकुसारी गर्न थालेका थिए। त्यतिबेला कार्यक्रम औपचारिक सुरु भएको थिएन।
तीन मिनेट भलाकुसारी गरेपछि गभर्नर अधिकारी उठेर अर्काे साेफामा गएर बसेका थिए।
अछामका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको ४० करोड रुपैयाँ निकाल्न अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई दबाब दिएको विषयमा सार्वजनिक भएपछि दुवैको सम्बन्ध बिग्रिँदै गएको थियो।
सूचना चुहाएको आरोपमा अर्थमन्त्री शर्माको सिफारिसमा मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरी उसलाई निलम्बन गरेको थियो।
त्यसपछि गभर्नर अधिकारी सर्वोच्च अदालतलको आदेशबाट पुनर्बहाली भएका थिए। त्यसपछि पनि दुवैबीचको सम्बन्ध खासै सुध्रिएको थिएन। यहाँसम्म कि दुवैबीच बोलचालसमेत थिएन।
त्यतिमात्र होइन, अर्थमन्त्री शर्माले आयात खुलाउनुपर्ने पक्ष लिए पनि गभर्नर अधिकारीले ‘कुनै हालतमा आयात खुला नगर्ने’ अडान लिएपछि उनीहरूबीचको सम्बन्ध थप बिग्रिएको थियो।
यिनै तिक्ततापूर्ण सम्बन्ध एकैचोटि सुधारतिर गएको हो कि भनेर कार्यक्रममा उपस्थितले कानेखुसी गरेका थिए।