काठमाडौं। युरोपेली जहाज निर्माता कम्पनी एयरबस र कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजबीच जहाजमा लगाइएको रङसम्बन्धी विवाद अन्त्यमा खरिद अर्डर रद्दमा पुगेर टुंगिएको छ।
केही समयदेखि एयरबस र कतारबीच यही विषयलाई लिएर ठूलो विवाद भएको थियो। विवाद साम्य हुने अवस्था नदेखिएपछि कतारको ३ सय २७ सिट क्षमतायुक्त ‘ए३५०’ सिरिजका १९ थान ‘वाइड बडी’ जहाज खरिद अर्डर एयबसले रद्द गरेको हो।
कतारले हाल सञ्चालनमा रहेका ए३५० वाइड बडी जहाजको बाहिरी भागमा लगाइउको रङ उप्किने समस्या देखिएपछि एयरबसले उसलाई थामथुम पार्ने प्रयास गरेको थियो। तर, लामो समयसम्म पनि यसबारे निष्कर्ष निस्किएको थिएन।
विवादकै बीच एयरबसले कतारको खरिद अर्डर नै रद्द गरेको हो। ‘एयरबसले जहाज निर्माण गर्दा कमसल रङ प्रयोग गरिदिएका कारण उडान सुरक्षामा खतरा उत्पन्न भएको छ,’ कतार एयरवेजले भनेको छ।
उता, एयरबसको आफ्नै दाबी छ। ‘कमसल रङ प्रयोग गरिएको होइन, यो ‘कस्मेटिक’ समस्या हो,’ एयरबसले बारम्बार भन्दै आएको थियो। एयरबसले गत फेब्रुअरीमै ती १९ थान ए३५० वाइड बडी जहाज कतारलाई डेलिभरी गर्ने तालिका थियो। तर, कतारले सञ्चालनमा रहेको अन्य ए३५० जहाजको बाहिरी भागको रङ उप्किने समस्या देखिएको भन्दै डेलिभरी लिन अस्विकार गरेको थियो।
कतार एयरवेजले द्विपक्षीय खरिद सम्झौताको सम्मान नगरेको भन्दै एयरबसले उसको खरिद अर्डर नै रद्द गरेको हो। कतारले यसअघि नै रङ उप्किने समस्या जरैदेखि समाधान हुनेगरी पूर्णविश्लेषण नदिएसम्म एयरबसका कुनै पनि डेलिभरी नलिने बताएको थियो।
विवादबीच एक्कासि खरिद अर्डर रद्द गर्ने एयरबसको निर्णयलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अकबर अल बकेरले ‘दुई कम्पनीबीचको व्यापारिक सम्बन्ध ध्वस्त भएको’ प्रतिक्रिया दिएका थिए।
यसअघि गत जनवरीमा पनि एयरबसले कतारको १ सय ८२ सिट क्षमतायुक्त ‘ए३२१’ सिरिजका ५० थान ‘न्यारो बडी’ जहाज खरिद अर्डर रद्द गरेको थियो।
त्यसबेला एयरबसको कदमलाई कतार एयरवेजका सिइओ बकेरले ‘असाध्यै दुःख र निराशाको विषय’ भएको प्रतिक्रिया दिएका थिए। सिइओ बकेरको प्रतिक्रिया आएको ६ महिनापछि कतार एयरवेजले एयरबसको प्रतिस्पर्धी कम्पनी अमेरिकाको बोइङसँग सोही सिट क्षमताका २५ थान ‘बि७३७ म्याक्स १०’ सिरिजका जेट अरिद अर्डर गरेको थियो।
कतार एयरवेजले आफूसँग सञ्चालनमा रहेका ए३५० जहाजमा रङ उप्किने समस्या देखिएको भन्दै २०२१ अगस्टमा यो सिरिजका केहीथान जहाज ‘ग्राउन्डेड’ गरेको थियो।
कतारको नागरिक उड्डयन महानिर्देशकको कार्यालयले जहाजको रङ उप्किने समस्याले उडान सुरक्षा र उडान योग्यतामा खतरा उत्पन्न हुने चेतावनी दिएपछि कतार एयरवेजले उडानमा प्रयोग गरिरहेका सबै २३ थान ए३५० जहाज २०२२ जुनबाट ग्राउन्डेड गरेको छ।
कतारमात्र होइन युएईको अर्को ठूलो वायुसेवा इतिहाद एयरवेज र अमेरिकाको डेल्टा एयरलाइन्सले पनि आफ्ना ए३५० जहाजमा रङ उप्किने समस्या आएको बताएका थिए। तर, कतारले भनेजस्तो उडान सुरक्षा र उडान योग्यतामा रङ उप्किने समस्याले प्रभाव पारेको भनेर उनीहरूको औपचारिक भनाइ भने आएको थिएन।
कतारको दाबीपछि एयरबसलाई ढाडस दिँदै युरोपको उड्डयन नियामक निकाय युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) ले जहाजको रङ उप्किँदैमा उडान सुरक्षा र उडान योग्यतामा प्रभाव नपर्ने औपचारिक विज्ञप्ति जारी गरेको थियो।
त्यसपछि एयरबसले पनि समस्या समाधान गर्न कतारमात्र नभई सबै ग्राहकलाई आवश्यक मार्गनिर्देश उपलब्ध गराउने र ए३५० जहाज सञ्चालन निरन्तर गराउने बताएको थियो। तर, जहाज निर्माता एयरबसको प्रतिक्रियाबाट कतार एयरवेज भने अझै असन्तुष्ट छ। त्यही कारण देखाउँदै कतार एयरवेजले ६१ करोड ८० लाख अमेरिकी डलरबराबरको क्षतिपूर्ति दाबी गर्दै बेलायतको लन्डन उच्च अदालतलमा मुद्दा दायर गरेको छ।
कतारको मुद्दा आगामी गर्मी महिनामा सुनुवाइ हुने जनाएको उच्च अदालतले खरिद अर्डरपछि डेलिभरी हुन बाँकी ए३५० जहाज एयर इन्डियालगायत वायुसेवालाई बिक्री गर्न एयरबसलाई आदेश दिएको छ।
‘व्यक्तिगत तहमा म सबैको साथी हुँ तर मेरो कम्पनीसम्बन्धी विषय हो भने यो भिन्नै कथा हो,’ कतार एयरवेजका सिइओ बकेरले गत जुनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘यदि समस्या समाधान हुन्छ भने लन्डन उच्च अदालतमा हालेको मुद्दाका लागि अर्को वर्षसम्म कुर्ने पक्षमा हामी छैनौं।’
एयबसले पनि कतार एयरवेजसँगको विवाद समाधान गर्न आफू तयार रहेको जनाएको छ। ‘हामी कतारसँग यसबारे कुराकानी गरिरहेका छौं र समस्या समाधानको बाटोमा छ,’ एयरबसका सिइओ गिलाउम फौरीले पनि त्यसबेला आयोजित पत्रकार सम्मेलनमा भनेका थिए। तर, तीन महिनापछि आएर दुवै कम्पनीबीच जारी विवाद जहाज खरिद अर्डर रद्दमा पुगेर टुंगिएको छ।
कतार एयरवेजले हाल २ सय ३४ जहाजबाट विश्वका १ सय ७३ गन्तव्यमा उडान गरिररहेको छ। उसले थप १ सय ४५ थान जहाज खरिद अर्डर पनि गरेको छ। कम्पनीमा अहिले ५० हजार १ सय १० कर्मचारी कार्यरत छन्। एजेन्सीकाे सहयाेगमा