काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो।
दुई हजार चार सय ८८ जनाको पिसिआर र एक हजार चार सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ५ सय ६० पुगेको छ। संंक्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
अहिले सक्रिय कोरोना सङ्क्रमितको संख्या एक हजार सात सय ४० रहेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको छ। हाल होम आइसोलेशनमा एक हजार छ सय ७८, संस्थागत आइसोलेशनमा ६२ र आइसियुमा २० संक्रमित रहेका छन्।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ। शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम र दार्चुला छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा छ सय ६८, ललितपुरमा दुई सय ७२ र भक्तपुरमा ३१ सक्रिय संक्रमित छन् । कूल संक्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।