काठमडौं। साझा यातायातका बाँकी विद्युतीय बस तिहारसम्म नेपाल भित्रिने भएका छन्। साझा यातायातका अनुसार चीनमा बस निर्माण (एसेम्बल)को काम भइरहेकाले तिहारसम्म बस नेपाल भित्रिने सम्भावना रहेको छ।
यसअघि असोजसम्म बाँकी बस नेपाल भित्र्याउने जनाएको साझाले अहिले तिहारसम्म ल्याउन सकिने जनाएको छ। कुल ४० वटा विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको साझाले आगामी चैतमा ३ वटा बस नेपाल भित्र्याइ सकेको छ। बाँकी ३७ वटा बस चीनमा निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ।
साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरका अनुसार नेपालमा ल्याउने मिती अहिले निश्चित भइसकेको छैन। ‘बस तयारी हुँदैछ, भन्सारमा कहिले आइपुग्छ, नेपाल कहिले भित्रिन्छ म अहिले नै भन्न सक्दिनँ। तर, दसैं/तिहारसम्म आइपुग्छ’ तुलाधरले भने।
यसअघि चैतमा नेपाल भित्रिएका ३ वटा विद्युतीय बस काठमाडौं उपत्यकाका सडकमा गुडिरहेका छन्। उक्त ३ वटा बसलाई परीक्षणको रूपमा सडकमा गुडाएको साझाले जनाएको छ।
सम्झौताअनुसारका बस हुन् वा हैनन्, नेपालमा सडकमा गुडाउन सहज हुन्छ वा हुँदैन ? जस्ता कुरा परीक्षण गरिएको बताइएको छ। असारको अन्तिम साताबाट सडकमा गुडेका बसमा अहिलेसम्म कुनै समस्या नदेखिएको तुलाधर बताउँछन्।
सञ्चलनमा रहेका ३ वटा विद्युतिय बस ९ मिटर लामा रहेका छन्। तर, बाँकी ३७ वटा बस १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बस रहने साझाले जनाएको छ। साझाका विद्युतीय बसहरु अपांगमैत्री रहेका छन्।
साथै उक्त बसमा महिला चालक र सह–चालक रहेका छन्। उक्त बसहरु चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीले तयार गरेको हो।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्ने हुन्छ।
सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत उसैले गर्ने उल्लेख छ। नेपाल भित्रिएका ३ वटा विद्युतीय बस पनि ४४ करोड रुपैयाँ भित्रैबाटै खरिद गरिएको हो। नेपाल भित्रिएका उक्त बस २६ सिट क्षमताका हुन्।
एकपटक फूलचार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर विद्युतीय बस २०० किलोमिटर गुड्ने छन्। ४० वटा बसको लागि २० वटा चार्जर चाहिने छ। यद्यपि नेपाल भित्रिएका ३ वटा बससँग २ वटा मात्रै चार्जर ल्याइएको छ। बाँकी १८ वटा चार्जर अन्य बससँगै आउने साझाले जनाएको छ।