चैतारा । पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ ।
यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र ९सिडेक०का अध्यक्ष राजकुमार भण्डारीले बताइन्।
जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष २ करोड ५२ लाख रूपैयाँको लप्सी बाहिरिने गरेको छ ।
जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जितबहादुर गिरीले वार्षिक ३ लाख रूपैयाँको कारोबार गर्दै आएको बताएका छन् । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ ।
ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा प्रशोधन केन्द्रले वार्षिक ८ देखि १० लाख रूपैयाँ बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलालले बताए।
उनका अनुसार यसको बजार राम्रो भएकाले अब बृहत् रुपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यावसायिक रुपमै यसको खेती गरिएको लघु उद्यमीसंघका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिए ।
यसबाट हाल ३ सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी २ हजार जनालाई रोजगारीको अवसर दिलाउने कार्यक्रम रहेको उनले उल्लेख गरे ।