काठमाडाैं । शुक्रबारदेखि भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको इभेण्ट सोलुसन प्रालिले जनाएकाे छ ।
बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । “एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले मेला आयोजना गरिएको हो,” प्रधानले भने ।
नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत् मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिपे मार्फट भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउने छन् । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए ।
मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । “मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने ।
दसैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाइ छ ।
असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।