काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १ हजार ५०० मेगावाट क्षमता बराबरको नदी प्रवाही (आरओआर) आयोजनाहरुको बिजुली खरिद–बिक्री सम्झौता (पिपीए) खुल्ने बताएका छन्। आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेस गरिसकेको बताउँदै उनले आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने जानकारी दिए।
उनले आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै कसैलाई पछि क्यु २५ मा जान इच्छा भए जान सकिने प्रावधान राखिने जानकारीसमेत दिए। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पीपीए खुल्ने जानकारी गराएका हुन्।
आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा पिपीएमा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदनले साढे तीन वर्षदेखि रोकिएको पिपीए खुलाउने व्यवस्था गरे पनि आजसम्म प्रक्रिया अघि नबढेपछि इप्पानले यस्तो माग गरको हो।
उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको डेढ महिना बितिसकेको छ। तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरू नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी गराए। अहिले पिपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिकरूपमा जानकारी माग गरे पनि इप्पान नै यस विषयमा प्रष्ट नभएको हुदा जवाफ दिन नसकिरहेको उनले स्पष्ट पारे।
संस्थाका अध्यक्ष आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरू बलराम खतिवडा, सदस्य उत्तम ब्लोन लामाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई भेटेका थिए ।