काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआई) ले महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ। आगामी पुस २९ देखि माघ १ गतेसम्म अर्थात् जनवरी १३ देखि १५ सम्म सम्मेलन हुने सिएनआईले जनाएको छ।
परिसंघको महिला नेतृत्व मञ्च ‘वमन लिडरसीप फोरम’को संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो। कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रीत रहेर सम्मेलन आयोजना गर्न लागिएको हो। कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने सम्मेलनको उद्देश्य रहेको छ।
त्यस्तै सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिने बताइएको छ।
नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ। परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउनेछ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ।