काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडी सहजरूपमा आयात गर्न दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।
नेपालका लागि बिवाइडी गाडीको आधिकारीक वितरक साइमेक्स इंक प्रालिको गौरिघाट सर्भिस सेन्टर ओपनिङ कार्यक्रममा बोल्दै घिसिङले त्यस्ताे बताएका हुन्। नेपाल विद्युत प्राधिकरणले देशभरका ३२ ठाँउमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएकाले अब विद्युतीय सवारी चार्ज गर्न कुनै समस्या नपर्ने घिसिङको भनाइ छ।
स्वदेशमै विद्युत खपत बढाउन विद्युतीय गाडीलाई सहजरूपमा ल्याउन दिनुपर्ने घिसिङको भनाइ छ। ‘हामी अबौंको विद्युत निर्यात गरिरहेका छौं,’ उनले भने, थप विद्युत उत्पादन भइरहेको छ। हाम्रो विद्युत खपत बढाउन आवश्यक छ।’ विद्युतिय खपत बढाउन विद्युतिय गाडीको प्रयोग हुनुपर्छ, उनले भने।
उनले विद्युतीय गाडी चार्ज गर्न कुनै असुविधा नहुने बताए। ‘विद्युतीय गाडी चार्जिङ सुविधाको लागि थप हजारौ स्थानमा चार्जिङ स्टेसन खोल्नुपर्छ,’ उनले भने, ‘उपभोक्तालाई विद्युतीय गाडी कहाँ चार्ज गर्ने भन्ने अवस्था नहोस भनेर हजारौ स्थानमा चार्जिङ स्टेसन खोल्नु प्राइभेट सेक्टरलाई प्रमोट गरिरहेका छौं।’
विद्युतीय गाडी जति आउँदा पनि चार्जिङ स्टेसनको समस्या नहुँने घिसिङको दाबी छ। उनले विद्युतीय गाडीमा प्रतिकिलोमिटर कस्ट समेत कम भएको बताए। ‘विद्युतिय गाडीमा प्रतिकिलोमिटर कस्ट समेत कम छ,’ उनले भने, ‘पेट्रोल र डिजलको तुलनामा विद्युतिय गाडीको लागत पनि सस्तो पर्छ।’
साथै, विद्युतीय गाडीमा सञ्चालन लागतसमेत कम रहेको घिसिङले बताए। ‘विद्युतिय गाडीमा सञ्चालन लागतसमेत कम छ,’ उनले भने, ‘सञ्चालन लागत कम हुँदा सार्वजनिक विद्युतीय गाडीको भाडादर समेत घट्छ।’ पेट्रोल र डिजलको तुलनामा विद्युतिय गाडिको भाडादर समेत सस्तो पर्ने घिसिङले बताए।