काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धी ३ वटा व्यवसायमा नयाँ कम्पनी थप्नका लागि एकैपटक प्रस्ताव मागेको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज, धितोपत्र दलाल (स्टक ब्रोकर) र वस्तु विनियम बजार (कमोडिटी मार्केट) व्यवसाय सञ्चालनका लागि निवेदेन दिन भनेको हो ।
बोर्डले नयाँ स्टक एक्सचेन्ज, धितोपत्र दलाल र वस्तु विनिमय बजार व्यवसाय सञ्चालनका लागि इच्छुक लगानीकर्ताबाट निवेदन मागेको हो । बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएको छ । यस्तै धितोपत्र दलालका लागि ३० दिनको मात्र समय दिएको छ ।
बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वस्तु विनिमय बजार कम्पनीका लागि प्रक्रिया अघि बढाएको हो । बोर्डले स्टक ब्रोकरको संख्या भने खुलाएको छैन ।
धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीमैत्री र अन्तर्राष्ट्रिय प्रविधिसहितको क्षमतायुक्त बनाउन नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको बोर्डले जनाएको छ । अहिले सरकार स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मात्र सेयर कारोबार हुने गरेको छ ।
नयाँ स्टक एक्सचेन्जका लागि तोकिएको समयभित्र निवेदन दिन बोर्डले लगानीकर्तालाई भनेको छ । संगठित संस्थाले निवेदनका साथमा व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने भएको छ ।
यस्तै स्टक एक्सचेन्ज स्थापना गर्न बोर्डबाट प्रदान गर्ने निर्देशिका २०७९ बमोजिम हुने भएको छ । बोर्डले परेका प्रस्तावमाथि अध्ययन गरेर नयाँ स्टक एक्सचेन्ज कम्पनी स्थापनाका लागि अनुमतिपत्र (लाइसेन्स) दिन बोर्डले सरकारलाई सिफारिस गर्ने भएको छ ।धितोपत्र दलाल व्यवसायीलाई बोर्डले नै अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था छ ।
वस्तु विनिमय बजार व्यवसाय गर्न चाहाने लगानीकर्ताले संगठित संस्थाको व्यवसायिक कार्ययोजनासमेत पेश गर्नुपर्ने बोर्डले जनाएको छ । यसअघि विनिमय बजार सञ्चालनका लागि निवेदन दिएका संस्थाले अद्यावधिक विवरणहरुसहित पुनः निवेदन पेश गर्न बोर्डले भनेको छ । पुनः निवेदन पेश गर्दा शुल्क नलाग्ने बोर्डले स्पष्टपारेको छ । तोकिएको समयभित्र अद्यावधिक विवरण पेश नगर्ने कम्पनीको निवेदन स्वतः रद्ध हुने बोर्डले जनाएको छ ।
पहिलो चरणमा दुईवटा वस्तु विनिमय बजार कम्पनी स्थापना गर्ने बोर्डको योजना छ । निवेदनको अध्ययनपछि दुई प्रस्तावकलाई छनौट गरी कम्पनी दर्ताका लागि पूर्व स्वीकृति दिने बोर्डले स्पष्टपारेको छ ।
यस्तै धितोपत्र बजारको विकास र विस्तारमा प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँचमा पुर्याउन स्टक ब्रोकरको संख्या थप्न लागेको बोर्डले जनाएको छ । हाल स्टक ब्रोकरको संख्या ५० रहेको छ ।
बोर्डले बैंकहरुलाई सहायक कम्पनी खोलेर स्टक ब्रोकरको काम गर्न अनुमति दिने लक्ष्य राखेको छ । बैंकहरुको शाखा सञ्जाल दुर्गम क्षेत्रमा पुगेकाले त्यहाँका साना लगानीकर्तालाई पनि सेयर बजारमा समेट्ने अपेक्षाअनुसार ब्रोकरको लाइसेन्स खुलाएको बोर्डले जानकारी दिएको छ ।
वस्तु उत्पादनलाई बजारसम्मको पहुँच पुर्याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरतता कायम गर्न बोर्डले लाइसेन्स दिन लागेको हो । लगानीकर्तालाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्न वस्तु विनियम बजार सञ्चालनमा ल्याउन लागेको बोर्डले स्पष्टपारेको छ । यसबाट धितोपत्र बजारमा प्रतिस्पर्धा बढ्न गई अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त र क्षमता युक्त बजारको विकास गर्ने लक्ष्य बोर्डले लिएको छ ।