एजेन्सी । भारतका चर्चित योगगुरु बाबा रामदेवद्धारा प्रवद्र्धित पतञ्जली समूहले आगामी पाँच वर्षमा आफ्ना चारवटा कम्पनीहरूलाई भारतीय स्टक एक्सचेन्जमा सूचीबद्ध गर्ने योजना बनाएको छ ।
रामदेव जसको पतञ्जली समूहले आयुर्वेदिक औषधी, फूड सप्लिमेन्ट, ओभर द काउन्टर उत्पादनहरू बाहेक जुसदेखि बिस्कुटसम्मका प्याकेज गरिएका दैनिक उपभोग्य वस्तुहरूको उत्पादन तथा बिक्रीवितरण गर्दछ ।
समूहको आयुर्वेद औषधिलगायत अन्य कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने रामदेवले बताएका छन ।
अहिलेसम्म समूहको एउटा मात्र कम्पनी पतञ्जली फुड्स जुन पहिले रुची सोया भनेर चिनिन्थ्यो । जसलाई २०१९ मा ४३ अर्ब ५० करोड भारुमा अधिग्रहण गरिएको थियो । यो कम्पनी अहिले भारतीय स्टक एक्सचेन्जमा सूचीबद्ध छ ।
समूहले पाँच वर्षभित्र ५० खर्ब भारु (५ लाख करोड) भन्दा बढीको बजार पुँजीकरण गर्ने लक्ष्य राखेको छ । यस्तै पतञ्जलीले कारोबार बढाउने भएको छ । अहिलेसम्म ४ खर्ब भारु (४० हजार करोड) कारोबार रहेको छ ।
कारोबार बढेर आगामी पाँच वर्षमा १० खर्ब भारु (१ लाख करोड) पुग्ने अपेक्षा गरिएको छ । पतञ्जलीले स्थापित भारतका दिग्गज कम्पनीहरूसँग प्रतिस्पर्धा बढाउँदै लगेको रामदेवले बताएका छन ।
पतञ्जली फुड्स रुची, नुत्रेला र पतञ्जली जस्ता ब्रान्डहरूको साथ एक विविध एफएमसीजी कम्पनी बन्ने बाटोमा रहेको छ । कम्पनीले पोर्टफोलियो विविधीकरण र वितरण नेटवर्कमार्फत प्रतिस्पर्धीहरूलाई पछि पार्ने लक्ष्य रामदेवको छ । पतञ्जली फुड्सको सेयर मूल्य बढेर शुक्रबार १३५९ भारुमा मा बन्द भएको छ ।
चाउचाउ, मह, जुस र पिठो (अाँटा) सहित ५०० भन्दा बढी उत्पादनहरु बेच्ने उतराखण्डको हरिद्वारमा आधारित कम्पनीले आर्थिक वर्ष २०२१ मा ७ अर्ब ४५ करोड भारु खुदनाफा गरेको थियो । यस्तै सन् २०२२ को अहिलेसम्म ७ अर्ब ४० करोड भारु खुद नाफा कमाएको छ । आगामी पाँच वर्षमा समूहका कम्पनीहरूमा ५ लाख जनालाई रोजगारी सिर्जना गर्ने रामदेवले जानकारी दिएका छन ।