काठमाडौं । खुम्चिदै गएको आम्दानीलाई बढाउन नेपाल टेलिकमले पूर्वाधार विकास तथा भर्टिकल व्यवसाय विस्तारमा जोड दिने भएको छ । टेलिकमले आम्दानी बढाउने ३ ओटा परियोजनामा अघि बढाउने भएको छ ।
फोरजी सेवा र एफटीटीएचको देशभरी नै सञ्जाल विस्तार गर्ने, पुरानो टीडीएम प्रविधिलाई आईपी प्रविधिमा रुपान्तरण गरेर उच्च गतिमा डेटा चलाउने परियोजना अघि बढाउने भएको हो ।
यस्तै इन्टरनेटका लागि चाहिने पूर्वाधार सूचना महामार्ग, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने काम रहेका छन् । टेलिकमले यसैलाई तिब्ररुपमा अगाडी बढाउने रणनीति अख्तियार गरेको प्रवक्ता प्रतिभा वैद्यले बताईन् ।
टेलिकमले यहिँ दशैंसम्ममा सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने उनले जानकारी दिइन । यसअघि पोखरा र काठमाडौं उपत्यका क्षेत्रमा सीमित फोरजी सेवा दिदैँ आएको टेलिकमले दशैंसम्म सात ओटै प्रदेशमा विस्तार गर्ने उनले सुनाइन ।
बदलिँदो प्रविधि र उपभोक्ताको रुचीअनुसारका परियोजनामा भएको ढिलाईका कारण आम्दानी खुम्चिरहेको उनीले स्वीकार गरिन ।
गत आर्थिक वर्षमा नेपाल टेलिकमको आम्दानी ४.३ प्रतिशत घटेर ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षमा ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षमा टेलिकमको आम्दानीमा गिरावट आएपछि टेलिकमले बढाउन नयाँ परियोजना सुरु गर्न लागेको हो । गत आर्थिक वर्षमा नेपाल टेलिकमको आम्दानी ४.३ प्रतिशत घटेर ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।
टेलिकमले अघिल्लो आर्थिक वर्षमा ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष नेपाल टेलिकमको नाफा ४१.६१ प्रतिशतले घटेर १० अर्ब २० करोड ८१ लाख ६८ हजार रुपैयाँ मात्र भएको छ । अघिल्लो वर्ष सोही अवधिमा टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँको खुद नाफा कमाएको थियो ।
प्रवत्ता वैद्यका अनुसार टेलिकमले पूर्णरुपमा डेटामै आधारित रहेर आम्दानीलाई बढाउने रणनीति लिएको छ । डेटाको शूल्क घटिरहेको अवस्थामा यसधचे भोल्यूमलाई बढाएको छ । एक वर्षदेखि टेलिकमले डेटालाई जोड दिदै भर्टिकल व्यवसाय पनि सञ्चालनमा ल्याईरहेको छ । यसलाई थप सशक्त बनाएर लैजाने प्रवत्ता वैद्यको भनाई छ ।
‘अहिले जुन कम्पनीहरुले भ्वाइस सेवाबाट आम्दानी गुमाइरहेका छन् तिनिहरुलाई डेटाले केही राहत दिन्छ । जति गुमाइएको छ त्यो त पुर्ति गर्न सकिदैँन तर भ्वाइसबाट भएको घाटालाई कभर गर्न यसले मद्दत गर्छ’ वैद्यले क्यापिटल नेपालसंग भनिन,‘त्यो हिसाबले फोरजी जति विस्तार गर्न सक्यो आम्दानी गुमेर परेको प्रभावलाई कम गर्न त्यति सजिलो हुन्छ । डेटा उपभोग गराउनलाई कनटेन्टको खाँचो पनि त्यत्तिकै पर्छ ।’
भर्टिकल व्यवासाय अन्तर्गत टेलिकमले हाल म्युजिक नेपालसँगको सहकार्यमा मोबाइल एप मार्फत म्युजिक स्ट्रिमिङ सेवा ‘म्युजिक नेपाल’ सञ्चालनमा ल्याएको छ । यस्तै ‘फोपी एप’, ‘वाउ टाइम’, ‘म्युजिक एण्ड मस्ती’, ‘मिदास ई क्लास’ । यी डेटा कन्टेन्ट सेवा टेलिकमले एक वर्ष अघिदेखि सुरु गरेको हो । हाल यसमा टेलिकमले ‘दाम्मी म्युजिक’ र ‘प्रभु टिभी’ पनि सञ्चालनमा ल्याएको छ ।
यसबाहेक मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने काममा हालसम्म प्रदेश १ मा सुरु भएको छैन । पूरा परियोजनाको सरकारबाट स्वीकृति लिइसकेको अवस्था भएपनि स्थानीय स्तरबाट प्रदेश तहबाट स्वीकृति प्राप्त नभएको कारण त्यहाँ सुरु नभएको प्रवत्ता वैद्यले बताइन् ।
यस्तै प्रदेश नम्बर ३ मा गल्छीदेखि मुङलिङमा काम सुरु भइसकेको छ । प्रदेश नम्बर २ मा लाहान गाईघाट र हेटौंडा पथलैया रुटको काम पनि सुरु भइसकेको छ । दुई वर्षसम्मका काम सक्ने सम्झौता भए अनुसार काम सकिने सम्भावना रहेको उनले बताइन् ।
गत असार महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनको अनुसार नेपाल टेलिकमको बजार हिस्सा ५५ प्रतिशत रहेको छ । केही समय अघिसम्म भ्वाइस सेवा तथा अन्तराष्ट्र्रिय कल सेवाको ठूलो हिस्साले धान्दै आएको टेलिकम व्यवसायको मूल आधारलाई अहिले डेटा सेवाले प्रतिस्थापन गर्दै लगेको छ ।
प्रतिस्थापन मात्र होइन बदलिँदो प्रविधिका कारण विश्वभरीका टेलिकम व्यवसायको आम्दानी नै खुम्चिदैँ गएको छ । दूरसञ्चार क्षेत्र तथा व्यवसायको परिदृश्य कस्तो हुन्छ भन्ने कुरा पूर्वानुमान गर्न नसकिने कम्पनीकी प्रवक्ता वैद्य बताउँछिन् ।
‘मान्छेको चाहाना र प्रविधि छिटो छिटो परिवर्तन हुँदैछ । बदलिँदो प्रविधिलाई सम्बोधन गर्न लगानी बढाउन पर्छ, माग अनुसार सेवा दिन लगानी थप्नु पर्छ ।’ वैद्य भन्छिन्, ‘विद्युतमा शूल्क बढेको बढेकै छ । प्रति युनिट विद्युत सेवा महंगो छ । तर टेलिकममा शूल्क घटेको घटेकै छ ।
पहिले रुपैयाँमा पाइन्थ्यो भने अहिले डेटा पैसामा पाइन्छ । लगानी बढाईइरहेका छौं । प्रतिस्पर्धा त्यतिकै बढिरहेको छ । धेरै कुराले दूरसञ्चार व्यवसायलाई प्रभाव पारेको छ ।’
भारतको बजार पनि ठूलो छ । जियोले डेटा यति सस्तोमा गर्यो अन्य कम्पनीले त्यसलाई धान्न नै गाह्रो परिरहेको छ । त्यसैले भारतमा टेलिकम कम्पनीहरु घाटामा गएको उनको तर्क छ ।
विश्वमा हेर्ने हो भने भ्वाइसलाई डेटाले विस्थापन गरेको कारण प्रतिवर्ष दूरसञ्चार कम्पनीहरुको आम्दानी २५ प्रतिशतसम्म घटेको वैद्य बताउँछिन् ।