काठमाडौं। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आगामी ३ वर्षपछि पनि कम्पनीहरुको चुक्ता पुँजी फेरी पनि बढाउनु पर्ने अवस्था आउने बताएका छन्।
जीवन तथा निर्जीवन बिमा कम्पनीको पुँजी बढाएर एकआपसमा गाभिन (मर्ज) मा जान बाध्य पारेको समितिले कारोबारको आकार बढेर जोखिम दायित्व पनि थप हुने अवस्था आउने भएकाले फेरी ३ वर्षपछि पनि पुँजी वृद्धि गर्नुपर्ने उनले जानकारी दिएका छन्।
‘पुँजी वद्धि एक पटक मात्र पनि गरेर पुग्ने होइन। अर्को ३ वर्षपछि पुँजी फेरि बढाउनु पर्ने हुनसक्छ’ उनले भने ‘समयकालसँगै जोखिमको प्रकृति फरक हुन्छ। कुनै ठाँउमा धेरै नै जोखिम हुन्छ। कम्पनीहरुको पुँजीको मुल्य पनि घट्छ। जोखिम बढ्दै जाँदा मुल्य घट्दै गएपछि पुँजी वृद्धि गर्नुपर्ने हुन्छ। यो त चक्र हो।’
समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ तोेकेको छ। एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स मर्ज भई हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार भइसकेको छ।
अन्य १७ कम्पनीलाई समितिले मर्जमा जान सहमति दिएको छ। कतिपय चलअचल सम्पत्तिको दायित्व मूल्याँकन (डिडिए) को प्रक्रियामा छन। कात्तिकपछि थप बिमा कम्पनीहरु संयुक्त कारोबार सुरु गर्ने अध्यक्ष सिलवालले जानकारी दिए।
‘आगामी फागुनभित्रमा मर्जको सहमति गरेका सबै कम्पनी एकीकृत कारोबार सुरु गरिसक्छन्’ उनले भने। अहिले दुई पुनर्बिमासहित १९ वटा निर्जीवन र १८ वटा जीवन बिमा कम्पनीहरु सञ्चालनमा छन्। अधिकांश कम्पनीहरुले मर्जमा जान तयारी थालेका छन्।
२०७४ सालमा बिमा समितिले बिमा कम्पनीलाई पुँजी बढाउन निर्देशन दिएको थियो। समितिले जीवन बिमा कम्पनीको हकमा २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको हकमा १ अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो। उक्त समयमा १२ जीवन बिमा सञ्चालनमा थिए।
२०७४ पछि समितिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पर्याएका थप ६ वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो। समितिले ज्योति लाइफ आईएमई लाइफ युनियन लाइफ, रिलाइन्स लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई व्यवसाय सञ्चालन अनुमति दिएको हो।
हाल आइएमई लाइफ र रिलायबल लाइफ आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। त्यस्तै, ज्योति लाइफ र युनियन लाइफ र रिलायन्स लाइफले आईपीओ निष्कासन गरिसकेका छन्। सन नेपाल लाइफले आईपीओ निष्कासन गरेको छैन। आईपीओ निष्कासन गर्न बाँकी जीवन बिमा कम्पनीले सेयर निष्कासन पश्चात २ अर्ब रुपैयाँ पुँजी पर्याउने लक्ष्य राखेका थिए।
तर अब आइपीओ निष्कासन गर्न बाँकी बाँकी कम्पनीले साढे ३ करोड रुपैयाँ पुँजी पुर्याउने पर्नेछ। सञ्चालमा रहेका बिमा कम्पनीले पुँजी वृद्धि गर्न लागको छन्। पुँजी वृद्धि गर्न नसक्ने कम्पनीमा मर्जका लागि जुटेका हुन्।
सरकारीलाई पनि नछाड्ने
सरकार स्वामित्वका राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई छुट नदिने अध्यक्ष सिलवालले स्पष्टपारे। क्यापिटल नेपालसँग कुरा गर्दै समितिका अध्यक्ष सिलवालले सरकारी स्वमित्वका दुबै कम्पनीले पुँजी वृद्धिको विकल्प नभएको स्पष्टपारेका छन् ।
‘सरकारी होस वा निजी सबैले समितिले तोकेको न्यूनतम पुँजी बढाउनु पर्छ । सरकारका कम्पनीका लागि छुट्टै कानुन छैन। सरकारले छुट्टै कानुन बनाएर दिनुपर्यो । हैन भने सरकारी कम्पनीले पुँजी बढाउनु पर्छ । सबै सरकारी र निजी बिमा कम्पनीहरु एउटै कामको लागि आएका हुन्। सबैलाई एउटै कानुन लाग्छ’ उनले भने। बिमा संस्थानको हकमा उसको संस्थान ऐन छ । हाम्रो नयाँ ऐन आयो भने त्यो बिमा ऐन खारेज हुन्छ। त्यसपछि त कम्पनीहरुले पुँजी बढाउनु नै पर्छ, सिलवालले भने।
राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले यसअघिको पुँजी बढाएका छैनन्। समितिले २०७४ सालमा जीवन बिमाहरुलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पर्याउन भनेको थियो। अन्य बिमा कम्पनीहरुले पुँजी वृद्धि गरेपनि यी दुई कम्पनीले पुँजी बढाएका थिएनन्। हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ भने राष्ट्रिय बिमा संस्थानको पुँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ ।