काठमाडौं । शंकर ग्रुपअन्र्तगतको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडको व्यापार फस्टाएको छ । जगदम्बाले टीभीएस ब्रान्डको मोटरसाइकल र चिनियाँ ब्रान्डको प्रोटन गाडी बेचेर १३ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२१ मा कम्पनीले १३ अर्ब १३ करोड ५० लाख रुपैयाँको गाडी व्यापार गरेको थियो । यस्तै २०२० मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँको गाडी व्यापार गरेको जगदम्बाले जनाएको छ । ३ वर्षको वित्तीय विवरणअनुसार जगदम्बाको गाडीको व्यापार बढ्दै गाएको देखिएको छ ।
यस्तै कम्पनीले ५ अर्ब २० करोड ऋणको रेटिङ गरेको छ ।
औद्योगिक क्षेत्रमा केन्द्रीत ग्रुपले गाडीको व्यापार गर्न सन् २०१० मा एसजी ग्लोबल प्राइभेट लिमिटेड स्थापना गरेको हो । पछि कम्पनी जगदम्बा मोटरमा परिणत भएको हो ।
सन् २०१५ देखि जगदम्बा भारतको टीभीएस मोटर कम्पनी दुई पाँग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता बनेको हो । कम्पनीले टीभीएस ब्राण्डको मोटरसाइकल आयात गरेर नेपालमा बिक्री वितरण गर्दै आएको छ ।
२०२० मा चीनको जिली होल्डिङसको प्रोटन गाडीको बिक्री सुरु गरेको हो । प्रोटन ब्राण्डको गाडी बिक्री सुरु गरेपछि कम्पनीको व्यापार विस्तार भएको हो ।
यस्तै कम्पनीले युएईबाट एडनक लुब्रिकेन्ट्स आयात गरेर बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले १०० देखि ३१० सीसीका मोटरसाइकलका साथै ११० देखि १२५ सीसीका टीभीएस स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीको नेतृत्व शाहिल अग्रवालले गरेका छन् । शंकर ग्रुपको नेपालको औद्योगिक क्षेत्रमा बलियो उपस्थिती रहेको छ । निर्माण सामाग्री उत्पादनमा केन्द्रीत ग्रुपले सिमेन्ट, डण्डी, पोलिमार, हस्पिटालिटी र बिमामा लगानी विस्तार गरेको छ ।