काठमाडौं। लगानी बोर्डले दोलखामा ‘फिल्म सिटी’ निर्माण गर्न लागेको छ । फिल्म सिटी निर्माण गर्न बोर्डले लगानी आह्वान गर्ने भएको छ। फिल्म सिटी बनाउन १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सन् २०२२ भित्रै लगानीका लागि आह्वानको तयारी गरेको बोर्डका सहसचिव तथा प्रवत्ता अमृत लम्सालले जानकारी दिए।
उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही वर्षअघि फिल्म सिटी निर्माणको गुरुयोजना तयार गरेको थियो। तर, गुरुयोजनामात्रै पर्याप्त नहुने र लगानीको विषय पनि समेट्न बोर्डले थप अध्ययन गरेको थियो।
बोर्डको अध्ययनअनुसार १५ अर्ब रुपैयाँ लगानीमा फिल्म सिटी निर्माण हुनेछ। लगानी धेरै चाहिने भएकाले वृहत छलफल गर्नुपर्ने सहसचिव लम्साल बताउँछन्।
‘सञ्चार मन्त्रालयको गुरुयोजना र हाम्रो वित्तीय अध्ययन कम्पाइल गरेपछि मात्रै लगानी आह्वान गर्नुपर्छ,’ लम्सालले क्यापिटल नेपालसँग भने, ‘२०२२ भित्रै लगानी आह्वान गर्ने हाम्रो तयारी छ। लगानीकर्ता छनोट भएपछि उसले फेरि अध्ययन गर्छ।’
लगानीकर्ता छनोट भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। त्यसका लागि दुई वर्ष लाग्ने लम्साल बताउँछन्। डिपिआर तयार भएपछि भने करिब सात वर्षमा फिल्म सिटी निर्माणको काम पूरा हुने उनको भनाइ छ।
२०७४ फागुन ३ मा शिलान्यास भएको उक्त फिल्म सिटीको हालसम्म गुरुयोजना तयार र आर्थिक लगानी अध्ययनबाहेक अन्य उल्लेख्य काम हुन सकेको छैन।
भीमेश्वर नगरपालिकाको लाकुरीडाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी १ हजार ५ सय रोपनी क्षेत्रफलमा फैलिने लगानी बोर्डले जनाएको छ।
जसमध्ये १.५१ वर्ग किलोमिटर क्षेत्र वनमा पर्ने छ। वन क्षेत्र फिल्म सिटी निर्माण हुने कूल जमिनको ८५ प्रतिशत हुनेछ। साथै २ हजार ८ सय २० मिटर उचाइबाट सुरु भएर ३ हजार ३ सय ८० मिटरसम्म सिटी क्षेत्र हुनेछ।
के–के निर्माण हुन्छ फिल्म सिटीमा?
फिल्म सिटीमा आन्तरिक सडक, ड्रेनेज, बिजुली, पानी र मोबाइल टावर, प्रवेशद्वार, प्रशासनिक कम्प्लेक्स, पार्किङ स्थल, पोस्ट प्रोडक्सन युनिट, मोनुमेन्टल एभिन्यु, थिमेटिक गाउँ, इनडोर स्टुडियो, अटोमोबाइल वर्कसप, गेस्ट हाउस, होटल, आउटडोर सुटिङ स्पेसलगायत निर्माण हुने बोर्डले जनाएको छ।
काठमाडौंबाट १ सय ५ मिलोमिटर दुरीमा रहेको लाकुरीडाँडा लामोसाघुँ–जिरी सडक खण्डबाट १.५ किलोमिटर मात्रै टाढा छ। त्यहाँ औसत १४.७ डिग्री सेल्सियस तापक्रम हुन्छ।
नेपालमा एउटा मात्र चलचित्र स्टुडियो रहेको र त्यो पनि राम्रो अवस्थामा नहुँदा दोलखामा फिल्म सिटी निर्माण गर्ने योजना सरकारले अगाडि सारेको थियो।
नेपालमा फिल्म सुटिङ गर्न आवश्यक ठाउँ र परिष्कृत स्टुडियो अभावले घरेलु फिल्म निर्माता अझै पनि मुम्बई र चेन्नईजस्ता भारतीय सहरमा निर्भर छन्। जसले गर्दा स्वदेशी रकम विदेशिएको छ भने नेपालको प्रचार–प्रसारमा पनि कमी आउने गरेको छ।
यद्यपि, हलिउड र बलिउडका धेरै चलचित्र छायांकन नेपालमा हुने गरेका छन्। तर, स्टुडियोका हिसाबले राम्रो पूर्वाधार नहुँदा विदेशी फिल्म निर्माताको नेपाल आउने संख्या कम भएकाले पनि यस्ता परियोजना निर्माण गर्नुपर्ने आवश्यकता बढेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार फिल्मको प्रत्यक्ष सुटिङ हेर्न चाहनेलाई अवसर हुने, रोजगारीका अवसर, होटल तथा पर्यटन व्यवसायमा टेवासँगै होमस्टे र विभिन्न संस्कृति प्रचारमा समेत फिल्म सिटीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।
हाल नेपालमा वार्षिक करिब १ सय मुख्यधारका चलचित्र बन्ने गरेका छन्। आर्थिक वर्ष २०१५/२०१६ मा यो संख्या लगभग ६०–७० थियो। यसबाहेक विश्वव्यापी रूपमा नेटफिल्क्स जस्ता कम्पनीको विस्तार र नयाँ चलचित्रको बढ्दो मागसँगै, विश्वव्यापी रूपमै फिल्म स्टुडियो र ठाउँको माग बढ्दै गएको छ।