काठमाडौं । सहकारीमा लाखौं रुपैयाँ ‘डिपोजिट’ गरेका निक्षेपकर्ताले दिनभरि लाइन बस्दा ५ हजार पनि पाउनसकेका छैनन्।
बिहानैदेखि लाइनमा उभिएर बेलुका फर्किंदा सहकारीका काउन्टरबाट पीडितका हातमा जम्माजम्मी अधिकतम ५ हजार रुपैयाँमात्रै दिने गरिएको भेटिएको छ। यसमा पीडितले पाएको सास्तीको हिसाब गरिसाध्य छैन।
‘सहकारीसँग १० लाख रुपैयाँ तर बिहानदेखि बेलुकासम्म लाइन बस्दा ५ हजार पनि मरेर दिन्छन्,’ एक सहकारीका आक्रोशित निक्षेपकर्ताले क्यापिटल नेपालसँग भने, ‘अहिले मेरो काम बिहान जुरुक्क उठ्ने र पैसा झिक्न लाइन बस्नेमात्र हो। अब दिनको ५ हजारका दरले लिएर मेरो १० लाख रुपैयाँ कहिले झिकिसक्ने हो, तनावमा छु।’
कुनियत भएका सञ्चालकहरूले सहकारीमा जम्मा भएको निक्षेप मनमौजी खर्च गर्दा सर्वसाधारणको ठूलो परिमाणबराबर रकम गुम्ने अवस्था बनेको हो। सञ्चालकहरूले सहकारीबाट पैसा झिकेर जग्गामा लगानी गरे। जग्गा बिक्री भएन। सहकारीको खराब कर्जा (एनपिएल) बेपत्ता बढ्यो र सहकारीमा नगद अभाव भएपछि सञ्चालकहरू भटाभट फरार हुँदा निक्षेपकर्ता पीडित भएका हुन्।
‘अहिले निक्षेपकर्ता आफ्नो रकम डुब्न लागेको भन्दै अत्तालिएका छन्,’ ती पीडितले भने, ‘मजस्ता हजारौं पीडितको दैनिकी नै अहिले सहकारीका ढोकामा लाइन बस्ने भएको छ।’
तर, पहुँचवाला निक्षेपकर्ताले दिनको २० हजार रुपैयाँसम्म झिकेका छन्। कतिपय व्यापारीले आफ्ना चार÷पाँचजना कर्मचारी लाइनमा खटाएर पनि पैसा निकालिरहेका छन्।
सहकारी विभागका अनुसार देशभरिका सहकारीमा करिब ६ खर्ब रुपैयाँ निक्षेप छ। यो भनेको बैंक तथा वित्तीय संस्थामा भएको कूल सहकारीको करिब १२ प्रतिशत हाराहारी हो। बैंक तथा वित्तीय संस्थाभित्र सहकारी पर्दैनन्।
काठमाडौं कुलेश्वरको गौतमश्री सहकारी सञ्चालक सर्वसाधारणको झन्डै ९ अर्ब रुपैयाँ लिएर फरार भएपछि निक्षेपकर्तालाई आफ्नो पैसा गुम्ने डर भएको हो। त्यही भएर त्यही ५ हजार लिन पनि बिहानदेखि लाइनमा उभिनुपरेको पीडितको भनाइ छ।
ठूला भनिएका सहकारी सञ्चालकहरूले सहकारीको निक्षेप आफूखुसी खर्च गर्दा सहकारीमा यस्तो विकृति आएको हो। कमजोर नियमन र सञ्चालकहरू फुक्काफाल हुँदा सर्वसाधारण जनताले राखेको निक्षेप गम्भीर संकटमा परेको हो।
महँगो ब्याजको लोभ देखाएर सर्वसाधारणबाट निक्षेप उठाएका सहकारी यतिखेर भागाभागको अवस्थामा छन्। सहकारीमा आर्थिक संकट उत्पन्न हुँदा त्यसको असर बैंक तथा वित्तीय संस्थाको निक्षेपमा पनि देखिएको छ।
सहकारीले बैंकमा राखेको निक्षेप निकालेर सहकारीका निक्षेपकर्तालाई धेरथोर रकम उपलब्ध गराइरहेका छन्। त्यही भएर बैंकबाट ह्वात्तै निक्षेप घटिरहेको छ।
केन्द्रीय बैंक अधिकारीका अनुसार सहकारीमा आर्थिक समस्या उत्पन्न हुँदा त्यसको सिधा असर बैंक तथा वित्तीय संस्थामा परेको हो। सहकारीको धेरै रकम बैंकमा निक्षेपका रूपमा भित्रिएको छैन।
कुल ६ खर्ब निक्षेपमध्ये १ खर्बहाराहारी बैंकमा निक्षेप आएको हुनसक्ने केन्द्रीय बैंकका अधिकारीहरूको भनाइ छ।