काठमाडौं । बेल्ट एन्ड रोड इनेसियटिभ (बीआरआई) मार्फत छिमेकी चीनले अहिलेसम्म ९ खर्ब ३२ अर्ब डलर लगानी गरेको छ । चीनले पूर्वाधारमा केन्द्रीत गरि विभिन्न मुुलुकहरुलाई ऋण दिन सन् २०१३ मा उक्त कार्यक्रम घोषणा गरेको थियो । कुल लगानीको अधिकांश हिस्सा पूर्वाधार निर्माणमा रहेको छ ।
हालसम्म नेपाललगायत १४७ वटा देशले बीआरआई परियोजनामा हस्ताक्षर गरेका छन्। बीआरआईमार्फत चीनले उपलब्ध गराउने ऋण र लगानी निरन्तर ओरालो लागेको ग्रीन फाइनान्स एन्ड डेभलपमेन्ट सेन्टरको अध्ययनले देखाएको छ ।
नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । दुबै देशले बीआरआईअन्तर्गत अघि बढाइने केही परियोजनाबारे छलफल र अध्ययन अघि बढाए पनि लगानीको ढाँचा सहितका प्राविधिक पक्षहरूमा खासै काम भएको देखिँदैन।
तर सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपालले जनाएको प्रतिवद्धताअनुसार सहकार्य अभिवृद्धि गर्न बीआरआई कार्यान्वयन अघि बढाउन चिनियाँ पक्षले जोड दिइरहेको छ।
अघिल्लो महिना नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनको औपचारिक भ्रमण गर्दा उनका समकक्षी वाङ यीले बीआरआई कार्यान्वयनको खाका अविलम्ब तयार गरिनुपर्नेमा जोड दिएका थिए।
देउवासँगको भेटमा चिनियाँ नेता ली चान्सुले ले बीआरआईको प्रसङ्ग पनि उठाएका थिए । चीनले ठूलो ऋण दिएको श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट नेपालको निम्ति निहुँ बनेको उनको बुझाइ छ।
बीआरआई परियोजनाको ब्याजदर धेरै महंगो भएकाले पछि ऋणको पासोमा परेर श्रीलंकाको जस्तो अवस्था हुनेमा नेपाल सचेत बनेको छ । बीआरआईको ऋणको ब्याज ५ प्रतिशत छ । जबकि विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्य दातृ निकायहरुबाट लिने ऋणको ब्याज १ प्रतिशत भन्दा तल छ ।
त्यसमाथि पनि कतिपय ऋणहरु पछि अनुदानमा परिणत भएका छन् । बीआरआईबाट लिएको ऋण तिर्न नसकेपछि चीनले श्रीलंकको एक बन्दरगाह लिएको छ । श्रीलंका संकटमा पर्नुमा बीआरआईको ऋण पनि रहेको बताईएको छ । पोखरामा सञ्चालनमा आउन लागेको विमानस्थल बनाउन लिएको ऋणको ब्याजदर २.७५ प्रतिशत रहेको छ ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुबीच भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण भन्दा पनि अनुदान मात्र दिन अनुरोध गरेका छन । बीआरआइले ऋण मात्र दिन्छ ।
अनुदान दिंदैन । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरूणकुमार सुवेदी बीआरआईको कुरा उठ्दा प्रधानमन्त्रीले ऋण होइन अनुदान हाम्रो प्राथमिकता भएको स्पष्टपारेका छन ।
चाइना डेभलम्पेन्ट बैंक र चाइना एक्सपोर्ट इम्पोर्ट बैंकले सन् २०१६ मा एकै वर्ष विभिन्न देशहरुलाई सर्वाधिक उच्च लगानी गरेका थिए। यि दुई बैंकले मात्रै सन् २०१६ मा ७५ अर्ब डलर ऋण दिएका थिए । सन् २०१९ मा घटेर ४ अर्ब डलरमा आइसकेको थियो।
ग्रीन फाइनान्स एन्ड डेभलपमेन्ट सेन्टरको हालै प्रकाशित प्रतिवेदनले बीआरआईको लगानी अघिल्लो वर्ष जस्तै यो वर्षको पहिलो चौमासिकमा कम नै रहेको उल्लेख गरेको छ। जलविद्युत परियोजना सहितका क्षेत्रमा पनि आबद्धता घटेको जनाइएको छ।