काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले दिगो विकासलक्ष्य हासिल गर्न वार्षिकरूपमा १९ बिलियन अमेरिकी डलर विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
लगानी बोर्डद्वारा बुधबार राजधानीमा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटनका क्रममा बाेल्दै प्रधानमन्त्री देउवाले साेहीअनुसारकाे आवश्यकता सूचना सम्प्रेषण गर्न आग्रहसमेत गरे।
कार्यक्रममा लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक गरेका छन्।
यस्तै प्रधानमन्त्री देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वान स्टप डिजिटल सिस्टमको पनि शुभारम्भ गरे। उक्त डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन्।
उद्घाटन सत्रमा बाेल्दै प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन्। उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे।
उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्नेमा जोड दिए। यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरेका छन्।
लगानी बोर्डको कार्यालयको लगानी प्रवर्द्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड साे, परियोजना लगानी सम्मेलन आयोजना गर्दै आएको छ। उद्घाटन समारोहपश्चात् समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन भइरहेका छन।