काठमाडौं । नेपालमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीका व्यापार करिब १० प्रतिशतले बढेको छ। सन् २०२१ मा वैदेशिक लगानी ल्याउने ६ सय ४ कम्पनीले ३ खर्ब ८१ अर्ब ५० करोड रुपैयाँबराबर व्यापार गरेका छन्।
अघिल्लो वर्ष ३ खर्ब ४७ अर्ब ७० करोडको व्यापार गरेका थिए। एक वर्ष अवधिमा वैदेशिक लगानी भित्र्याउने ती कम्पनीको कारोबार ३३ अर्ब ८० करोड रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विदेशी लगानी ल्याएका कम्पनीले औसत १४.७ प्रतिशत प्रतिफल (रिटर्न अन इक्विटी) प्राप्त गरेका छन्। अघिल्लो वर्ष औसत प्रतिफल १५.६ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा विदेशी लगानी ल्याउने कम्पनीले पाउने प्रतिफल केही कम भएको छ।
यसबीच वैदेशिक सम्पत्ति २०२१ जुलाई मध्यसम्ममा शून्य दशमलव ९ प्रतिशतले बढेर १४ खर्ब ८१ अर्ब १० करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो सम्पत्ति ३५.९ प्रतिशतले बढेको थियो। विदेशी दायित्व १५.४ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३६.२ प्रतिशतले बढेको थियो।
नेपालको अन्तर्राष्ट्रिय लगानी अवस्था (नेट आइआइपी) ८० अर्ब १० करोड रुपैयाँ सकारात्मक छ। जुन अघिल्लो वर्ष २ खर्ब ५३ अर्ब ५० करोड थियो। विदेशी सम्पत्ति, प्रत्यक्ष लगानी, पोर्टफोलियो लगानी समावेश छन्।
त्यस्तै रिजर्भ सम्पत्ति र अन्य लगानी जसमा अन्य इक्विटी, मुद्रा र निक्षेप, ऋण, व्यापार क्रेडिट र अग्रिम तथा अन्य खाता छन्। २०२१ जुलाई मध्यसम्ममा आधिकारिक रिजर्भ सम्पत्ति १.९ प्रतिशतले बढेर १२ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।