काठमाडौं । निजी क्षेत्रबाट सञ्चालन भइरहेको भगवती लेमिनेट्स प्राइभेट लिमिटेडको व्यापार बढ्दै गएको छ । उद्योगको प्लाइउडको व्यापार बढेर सन् २०२२ को अहिलेसम्म ७८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
सन् २०२१ मा उद्योगले ६४ करोड ८० लाख, २०२० मा ४८ करोड ३० लाख र २०१९ मा १४ करोड २० लाख रुपैयाँको कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
४ वर्षको वित्तीय विवरण हेर्दा उद्योगको व्यापार औसत २० प्रतिशतका दरले बढ्दै गएको देखिन्छ । उत्पादन र व्यापारमा भएको वृद्धिले उद्योगको प्रतिफल राम्रो हुने देखाएको छ । भगवती लेमिनेटडले १ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
उद्योग सन् २०१६ मा स्थापना भएको हो । सन २०१९ को फेब्रुअरीदेखि भगवतीले नेप्ली ब्रान्डमा विभिन्न किसिमका प्लाइउड, प्लाइबोर्ड, डोर र भिनर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता ३४ लाख २० हजार वर्गमिटर प्लाइउड र १२ लाख वटा लेमिनेट टुक्रा रहेको छ ।
उद्योग झापाको मेची नगरपालिकामा रहेको छ । उद्योगको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । कम्पनीलाई सात व्यक्तिगत सेयरधारकहरूको समूहद्वारा प्रवर्द्धन गरिएको छ ।
भगवतीका लगानीकर्ताहरु कोइला, सिमेन्ट, निर्माण सामग्री, लिबास, प्लाइवुडसम्बन्धी व्यापारिक गतिविधिमा संलग्न छन । उद्योगमा विनित अग्रवालको ४०, रजनिस कर्नानीको १५ र निर्मला कर्नानीको १५ प्रतिशत स्वामित्व रहेको छ । प्रवर्द्धकहरू र व्यवस्थापन टोलीको सम्बन्धित र पूर्वअनुभवहरूले उद्योगको उत्पादन र व्यापार बढाउन मद्दत गरेको छ
बढ्दो सहरीकरण वृद्धिसँगै निर्माण क्षेत्रमा निजी र सार्वजनिक क्षेत्रको लगानीले प्लाइउडको विकासलाई टेवा दिएको छ । बढ्दो बजार मागले हालको लगानीको प्रवृत्तिबाट फाइदा लिने अपेक्षा गरिएको छ । अन्य प्रतिस्पर्धी उद्योगहरु, आलमुनियम र प्लास्टिकबाट बनेका बनेका वस्तुहरुसँग उद्योगले प्रतिस्पर्धा गर्नुपरेको छ ।