काठमाडौं। साढे दुई दशकअघि १८ सिट क्षमतायुक्त एकथान ‘बिचक्राफ्ट१९००’ जहाजबाट आन्तरिक उडान थालेको निजी वायुसेवा कम्पनी बुद्ध एयरले हालसम्म १ करोड ८० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याएको छ।
बुद्धले सन् १९९७ अक्टोबर ११ (असोज २५) बाट व्यापारिक उडान सुरु गरेको थियो । त्यसयता हालसम्म उसले १ करोड ८० लाख ३२ हजार ४ सय ५८ यात्रुलाई गन्तव्य पुर्याएको हो।
‘पहिलो उडानमा हामीले १६ जना यात्रु बोकेका थियौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले क्यापिटल नेपालसँग भने, ‘अहिले त्यो सम्झिँदा रमाइलो लाग्छ।’ बुद्धको पहिलो उडान क्याप्टेन आरके शर्मा र अमेरिकाका क्याप्टेन केभिन सेन्ट जर्मेनले गरेका थिए।
पहिलो उडानमा १६ यात्रुलाई गन्तव्य पुर्याएको बुद्धले स्थापनाको २५ वर्षमा आइपुग्दा झन्डै २ करोडहाराहारी यात्रु बोकिसकेको छ।
आन्तरिक उडानमा करिब ५५ प्रतिशत हिस्सा ओगट्न सफल बुद्धले हालसम्म २ लाख ६४ हजार ९ सय १८ उडान गरिसकेको छ।
भदौ २६ सम्मको तथ्यांकअनुसार बुद्धले २ लाख ८३ हजार ५ सय १६ घन्टा उडान गरेको छ। वार्षिकोत्सव (अक्टोबर ११) सम्ममा यो संख्या अझै बढ्ने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।
आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइरहेको बुद्धले पोखरा र सौराहाको विषेश प्याकेजसमेत ल्याउने गरेको छ। उसले पहाडी र हिमाली क्षेत्रमा पनि उडान गर्ने तयारी गरिरहेको छ।
त्यसैगरी अन्तरप्रदेश उडान पनि बुद्धले सबैभन्दा पहिला सुरुवात गरेको थियो। सबैलाई हवाई पहुँच पुर्याउने उद्देश्यले अन्तरप्रदेश उडान सुरु गरेको बुद्धले जनाएको छ।
हाल बुद्धसँग ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका जहाज ११ थान, ४२ सिटका ‘एटिआर४२–३२०’ तीन थान र १८ सिटका दुईथान ‘बिचक्राफ्ट–१९००डी’ जहाज सञ्चालनमा छन्।
बुद्धले हाल दैनिक १ सयभन्दा बढी उडान गर्दै आएको छ। विशेषगरी सहरी भेगका विमानस्थलमा बुद्धले उडान गर्दै आएको छ। नेपाल बाहिर भारतको बनारस उडान पनि गर्दै आएको छ।
सामान्य पृष्ठभूमिबाट आएर सरकारी जागिरबाट अवकास भएपछि उड्डयन व्यवसायमा प्रवेश गरेका सुरेन्द्रबहादुर बस्नेत बुद्धका संस्थापक हुन्। उनै बस्नेतका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले अहिले बुद्ध एयरको नेतृत्व गरिरहेका छन्। बुद्धसँग हाल १ हजार १ सयभन्दा बढी कर्मचारी आबद्ध छन्।