काठमाडौं । नाडा अटो मोबाइल्स् एशोसियसन अफ नेपालले आयोजना गर्न लागेको 'नाडा अटो साे २०२२' मा ५१ वटा स्टल रहने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ सस्थाहरूको भव्य प्रदर्शनी हुने भएको हो ।
एक्स्पोको टाइटल स्पोन्सर सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्याेरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप छ ।
नाडाका अध्यक्ष धुव्र थापाले दसैं र तिहारको पूर्व सन्ध्यामा आयोजना हुन गइरहेको एक्स्पोले विद्युतीय सवारीसाधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवंम सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरूको समस्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने बताए ।
नाडा इभी एक्स्पो समितिका सभापति अनुपकुमार बरालले वर्तमान समयमा विद्युतीय सवारीसाधनहरूको महत्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनहरूको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने बताए ।
साे मा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहनेछन् । ७ वटा ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १५ वटा दुई पाङ्ग्रे, ३ वटा ब्रान्डका टायर, ९ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्ट पुर्जा, ग्यारेज उपकरण कम्पनी र ४ वटा वित्तीय संस्थाहरूको सहभागिता रहने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी हुनेछन् भने युएसआइडी क्लीन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचना मुलक गोष्ठीको सञ्चालनसमेत हुनेछ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रर्दशनीस्थलमा भिडभाड कम गर्न एवंम् आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन सोमबारबाटै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
असोज ५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्धारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । ४ दिनसम्म चल्ने एक्स्पोमा करिब ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वाससमेत आयोजकले लिएको छ ।