बागलुङ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ ।
चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोसेलीमा मुस्ताङको स्याउ’ । दसैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोसेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैंका बेला गाउँ फर्किने किन नहुन् १ गाउँघरमा एउटै आशा हुन्छ, ‘कोसेलीमा मुस्ताङी स्याउ छ, छैन ।’
दसैंलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको हो । भदौको अन्तिम सातादेखि बिक्रीका लागि खुला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको बागलुङ बजारका फलफूल व्यवसायी बताउँछन् । रातो र सेतो दुवै रङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा आइपुगेको व्यसायीले बताएका छन् ।
धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पुर्याउने लामाले यस वर्ष पनि बगान ठेक्कामा लिनुभएको छ । ५० लाख रूपैयाँमा खरिद गरेको बगानका स्याउ दसैंअघि नै बजारमा पुर्याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ ।
मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उनले ठेक्कामा लिएका हुन् । “दसैंपछि बजारमा माग घट्छ, कोसेली हुने भएकाले दसैंका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ”, लामाले भने, “दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्याउने गरेको छु ।” पहिलो पटक बजारमा आएको स्याउ खुद्रा व्यापारीले हानथाप गरेर खरिद गरेको लामाले बताए ।
यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वका बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । बगैंचाबाट संकलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य ९० देखि र १ सय २५ रूपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए ।
दसैं-तिहारका समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्छ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताए। व्यापारीले मुस्ताङको स्याउ २ सयदेखि २ सय ५० रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
“पहिलो पटक आएको स्याउ निकै उत्साहजनक हिसाबले बिक्री भइरहेको छ”, मिलन फलफूल पसलका सञ्चालक खगेन्द्र पौडेलले भने, “बागलुङका स्थानीय बजारमा पनि हामीले स्याउ पठाइसकेका छौं ।”
विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले सुरुमा प्रत्येक घरमा तीन/तीनवटा स्याउका बेर्ना बाँडेको थियो ।
मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउन बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।
मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा भदौको अन्तिम साता मात्रै बगानमा प्रवेश दिइएको हो ।
गत वर्ष ४० करोड रूपैयाँको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्यांक छ । मुस्ताङमा १ हजार ४ सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५ सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने स्थानीय बताउँछन् ।