त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे ३ वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट बिजुलीको परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।
उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ”, आयोजना प्रमुख रघुवंशीले भने, “मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।” फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ ।
विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा एक दशमलव पाँँच मेगावाट विद्युत् उत्पादन गरेको थियो ।
आयोजनाको पूर्ण क्षमता २५ मेगावाट गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैँले निर्माण गरेको ३३र६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । “सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन”, उनले भने, “मौसम सफा भएको मध्याह्नको समयमा २५.२ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।”
सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ ।
खेर गएका बाँझो जग्गा उपयोग
एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो ।
विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । सुरुमा स्टाफ क्वार्टर ९विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान र फोर–वे नेपाली सेनाको ब्यारेक पछाडिको चौरबाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमशः रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । उक्त जग्गा यसअघि अधिकांश अतिक्रमणमा परेका थिए ।
पाँच वर्षसम्म निर्माण व्यवसायीको जिम्मामा
नेपाल सरकारले आन्तरिक उत्पादनबाटै बिजुलीमा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ ।
आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३ करोड ८० लाख डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीसँग विसं २०७४ जेठ ३ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन ।
प्रतिमेगावाट लागत १६ करोड
प्लान्टबाट वार्षिक ३ करोड ४६ लाख ५० हजार युनिट विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्नुपर्दछ । फार्म निर्माणका लागि सम्झौता समयमा ३ अर्ब ८० करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको प्राधिरकणले जनाएको छ ।
आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उनका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट १६ करोड रुपैयाँ लगानी छ ।
हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर) को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ । रासस