काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरू बचतकर्ताको पैसा बोकेर भाग्ने क्रम बढ्न थालेको छ । सहकारी भाग्दै जानथालेपछि बचतकर्ताको सहकारीप्रति विश्वास गुम्न थालेको छ । एकपछि अर्को सहकारी फरार हुन थालेसँगै बचतकर्ता आफ्नो पैसा झिक्न थालेका छन् ।
बचतकर्ता पैसा फिर्ता माग्दै आउन थालेपछि संस्थाको प्रतिष्ठा जोगाउन भए पनि धेरै सहकारीले आफूले बैंकमा राखेका निक्षेप ल्याएर फिर्ता गर्न थालेका छन् । ठूलो मात्रामा रकम झिक्न थालेसँगै सहकारीमा लगानीयोग्य रकम (तरलता)को समस्या देखिको छ ।
पैसा झिक्ने क्रम निरन्तर बढ्दै जान थालेकाले तरलताको चाप परेको सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल बताउँछन् । ‘समस्यामा परेका सहकारीले आफ्ना सदस्यसँग बसेर छलफल गरेर निश्चित समय राखेर पैसा फिर्ता गरिरहेका छन्,’ उनले भने, ‘केही समयअघि काठमाडौंमा गौतमश्रीे बहुउद्देशीय ललितपुरमा देउराली र धरानमा बराह सहकारी समस्यामा परेका थिए ।’ सहकारी समस्यामा परेकाले बचत झिक्नेको संख्या बढेको कँडेलले बताए ।
‘सहकारीले ८० प्रतिशतसम्म लगानी गरेका हुन्छन्,’ उनले भने, ‘एकै चोटी सबै मानिसहरू पैसा लिन आउँदा सहकारीले दिन सकेका छैनन् ।’ कोभिडपछि सहकारी संस्थाको व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको कँडेलले बताए ।
‘ऋणीले राम्रोसँग किस्ता र ब्याज बुझाउन सकेको अवस्था छैन,’ उनले भने, ‘यस्तो अवस्थामा बचत फिर्ता र दुई तीन वर्षका लागि गरेको निक्षेपको पनि अहिले नै पैसा चाहियो भनेर आइरहेका छन् । एकै पटक पैसा फिर्ता गर्न सकिने अवस्था छैन ।’
तरलता समस्या आएको अवस्थामा बचतकर्ता पैसा एकै चोटी फिर्ता गर्न नसक्दा समस्या आएको उनी बताउँछन् । ‘अब सहकारी संस्थाले आफ्ना ग्राहकसँग निरन्तर सम्पर्क गर्ने र सदस्यले पनि सञ्चालक र बोर्ड र व्यवस्थापनसँग बसेर मिति तय गरेर पैसा फिर्ता गरिरहेका छन्’, उनले भने ।
कतिपय गाउँ र सहरका सहकारीमा तरलताको समस्या नभएर राम्रोसँग सञ्चालमा भइरहेका कँडेल बताउँछन् । समस्यामा आएका सहकारीले स्थायी सम्पत्तिमा लगानी गरेको देखिएको उनी बताउँछन् । ‘समस्यामा आएका सहकारीले स्थायी सम्पत्तिमा लगानी गरेको देखिन्छ,’ उनले भने, ‘तरलता मेन्टेन गरेर उनीहरू अगाडि बढिरहेको अवस्था थिए ।
मन्दीले गर्दा एकाएक सम्पत्ति भन्ने बित्तिकै बिक्री नभएको अवस्था छ ।’ लगानी गरेको पैसा नउठ्दा समस्यामा परेको कँडेलले बताए ।
सहकारीले आफ्नो क्षेत्राअधिकारभन्दा बाहिर गएर सम्पत्तिमा मात्र लगानी गर्न नहुने उनले बताए । ‘स्थानीय तहभन्दा सहर क्षेत्रमा अवस्थित सहकारी बढी समस्यामा देखिएका छन्,’ उनले भने, ‘सहरी क्षेत्रका सहकारी धेरै र चाँडै कमाउने आसले घर जग्गामा लगानी गर्न थालेकाले समस्था आएको हो ।’
देशभर अहिले ३५ हजार २ सय ३९ सहकारी संस्थामा ८७ लाख ४९ हजार १ सय ३२ सदस्य आबद्ध छन् । यीमध्ये १४ हजार ४ सय ३० संस्थाले बचत तथा ऋणको कारोबार गर्छन् । पछिल्लो समय समस्याग्रस्त हुनेमा सबैभन्दा धेरै यस्तै कारोबारी संस्था छन् । बचत–ऋण कारोबार गर्ने एउटै सहकारी डुब्दा हजारौं बचतकर्ताको अर्बों रकम फस्छ, तर एकपछि अर्को सहकारीको सञ्चालक भाग्ने क्रम नियमित दुर्घटनाजस्तै भएको छ ।
सहकारी संस्थाहरूले कुल कर्जाको कम्तीमा ५१ प्रतिशत उत्पादनमूलक क्षेत्र तथा व्यवसायमा प्रवाह गर्नुपर्ने सहकारी विभागको निर्देशन पनि उल्लंघन गरेका छन् । त्यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
मन्त्रालयले ओरेन्टल को–अप्रेटिभ लिमिटेड, स्टान्डर्ड सेभिङ एन्ड क्रेक्रिड को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इनभेस्टमेन्ट को–अप्रेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अप्रेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एन्ड क्रेडिट को–अप्रेटिभ लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।
त्यस्तै, स्टान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुनिभा बहुद्देश्य सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएका सहकारी हुन् । व्यवसायी इच्छाराज तामाङले स्थापना गरेको सिभिल सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ । बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको अभियोगमा उनी अहिले जेलमा छन् ।
समस्याग्रस्त सहकारीका ८ हजार ९ सय २६ जना बचतकर्ताले दाबी गरेका छन् । हालसम्म २ सय २० बचतकर्ताले दाबी रकम पाउन सफल भएका छन् । अन्य ८ हजार ७ सय ६ जनाले अझै दाबी रकम पाएका छैनन् । विस्तारै अन्य बचतकर्ताको पैसा फिर्ता गर्न सकिने आशा पलाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । साथै, सहकारी विभागले हालै गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । तर, मन्त्रालयले हालसम्म सहकारीलाई समस्याग्रस्त घोषणा भने गरिसकेको छैन ।
गौतमश्री सहकारीपश्चात् पुनः आरक्ष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बचतकर्ताको लाखांै रुपैयाँ बोकेर फरार भएका छन् । उनीहरूले बचतकर्ताको करिब ५२ लाख रुपैयाँ लिएर फरार हुन् । हालसम्म ३ सय २० जना बचतकर्ता उजुरी दिएको सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले बताए । खर्बों रुपैयाँ वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूलाई नियमन गर्ने कुरा धेरै अघिदेखि उठ्दै आएको हो ।
सहकारी विभागले संस्था खोल्न अनुमतिपत्र (लाइसेन्स) दिने तर नियमन गर्न नसकेपछि केही विकृतिहरू पनि आएको जानकार बताउँछन् ।सहकारीलाई नियमन गर्न दोस्रो तहको नियमनकारी सानालगायत ठूला सहकारीमा वित्तीय अनुशासन पालन नभएर बचकर्ताको रकम डुब्ने अवस्था आएपछि यसलाई रोक्न सरकारले चालू आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत वित्तीय सहकारी संस्थाहरूलाई नियमन गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्न भएको छ ।
सरकारले नियमनकोे दायराबाहिर रहेका वित्तीय सहकारी संस्थालाई नियमनको दायरामा ल्याउनका लागि नियामक निकाय स्थापना गर्ने जनाएको हो । तर, हालसम्म सहकारी संस्थालाई नियमनको दायरामा ल्याउन नियामक निकाय स्थापना गर्ने प्रक्रिया अघि नबढेको सहकारी विभाग रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए । ‘सरकारसँग छलफल गरेर प्रस्ताव गरेका हौं,’ उनले भने, ‘त्यसको निर्णय सरकारले गर्ने हो । निर्णय गरेको छैन । हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।’
सहकारी संस्थाहरूले दुर्गमदेखि सुगमसम्म सेवा प्रदान गर्दै गर्दा यस क्षेत्रमा देखिने केही विकृतिले समग्र सहकारी क्षेत्रप्रति नै विश्वास गुम्ने अवस्था आइरहेको छ । यस्तो अवस्थामा सहकारीलाई नियमन गर्ने नियामक स्थापना गर्ने प्रस्ताव सकारात्मक रहेको सरोकारवालाहरू बताउँछन् ।