कास्की । जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष नौ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम रु ४४ लाख ४६ हजार अनुदान वितरण गरेको हो ।
केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दुई रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन ।
उनले भने, “उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्छ भन्ने कृषकको माग हो । त्यसैले हामीले जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौं । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ ।”
कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष रु ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन् ।
यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपक्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ । कृषि तथा पशुपक्षी बीमा संघीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष ८ सय ६५ कृषकले आफ्ना पशुपन्छीको बिमा गराएका छन् ।
गाई, भैंसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी ३ लाख १८ हजार ६२ पशुपन्छी बिमामा १ करोड १० लाख ८९ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपन्छी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस वर्ष केन्द्रको बजेट ९ करोड ६५ लाख ७९ रहेकामा पुँजीगत खर्चतर्फका कार्यक्रमका लागि ३ करोड ६६ लाख ९८ हजार छ । यसैगरी चालू खर्चतर्फ रु पाँच करोड ९८ लाख ८९ हजार रहेको बताइन्छ ।