काठमाडौं। सरकारले ७४ वर्षपछि सञ्चालनमा ल्याएको भैरहवास्थित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ हरिबिजोगको नमुना बन्ने निश्चित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र खाडी, सुदूरपूर्व र छिमेकी देशका गन्तव्यमा उडान गर्ने वायुसेवालाई काठमाडौंको सट्टा सिधै भैरहवा लैजाने सरकारको योजना त्यसै अलपत्र परेको छ।
गौतमबुद्धमा गत जेठ २ देखि कुवेतको वायुसेवा कम्पनी जजिरा एयवरेजले सातामा तीन उडान गर्दै आएको छ। त्यसयता अन्य केही अन्तर्राष्ट्रिय वायुसेवाले उडान चासो देखाए पनि सुरु भने गरेका छैनन्।
तर, गौतमबुद्धको एक्लो ‘प्लेयर’ जजिरासमेत उक्त विमानस्थलमा नेपाल सरकारले तत्काल श्रम डेस्क स्थापना नगरे यसपालि तिहारबाट सबै उडान फिर्ता गर्ने ‘निष्कर्ष’ मा पुगिसकेको छ।
श्रम डेस्क नहुँदा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपालीलाई श्रम स्वीकृति, मेडिकल जाँच, कतार भिसा सेन्टर, युएई भिसा प्रमाणीकरणलगायत काम गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यताले ‘गम्भीर’ समस्या पारेको तर सरकारले आवश्यक सहजीकरण नगरेको भन्दै जजिराले उडान सुरुवातदेखि नै असन्तुष्टि पोख्दै आएको छ।
एक्कासि, जजिराले कुवेत–भैरहवा सेक्टरको उडान फिर्ता गरी पुनः कुवेत–काठमाडौं सेक्टरमै फर्किने जनाउ दिएपछि गौतमबुद्ध विमानस्थलको यसै पनि हरिबिजोग हुने भएको हो।
लामो प्रयासपछि नियमित्र यात्रुवाहक उडान थालेको जजिरा पनि फिर्ता गयो भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘भूतबंगला’ बन्नेमा दुईमत नराखे हुन्छ। जजिरा फिर्ता गयो भने गौतमबुद्ध आउने तयारीमा रहेका अन्य अन्तर्राष्ट्रिय वायुसेवासमेत बिच्किने निश्चित छ।
बरु, तत्काल श्रम डेस्क सञ्चालनमा ल्याउन विमानस्थल सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयन, पर्यटन व्यवसायीलगायत सरोकारवालाले श्रम मन्त्रालयलाई आग्रह र दबाब दिन सुरु गरे हुन्छ।