एजेन्सी । युरोपेली संघ (ईयू) आवद्ध मुलुकहरुले ऊर्जाको मूल्यवृद्धि थेग्न नसकेपछि खपत घटाउनतिर लागेका छन । ईयूका ऊर्जा मन्त्रीहरूको शुक्रबारको बैठकले प्रत्येक देशले कुल ऊर्जा खपतलाई न्यूनतम १० प्रतिशतका दरले घटाउने रणनीतिहरू लागू गर्न सुझाव दिएको छ ।
मस्र्यौदा कागजात अनुसार ईयूले पिक आवरमा बिजुलीको मूल्य कम्तिमा ५ प्रतिशत घटाउनु पर्ने भएको छ । युद्धका कारण रुसको तेल र ग्यास आपूर्ति कटौती गरेको ईयू मुलुकहरु ऊर्जाको भाउ आकासिएपछि खपत घटाउने निश्कर्षमा पुगेका हुन ।
ईयूले आफ्ना सदस्यहरूलाई शरद ऋतुदेखि सुरु हुने र जाडोको अवधिमा १५ प्रतिशतका दरले ग्यास खपत घटाउन भनेको छ । ग्यास कटौती फ्रेमवर्क बिजुलीको खपत १० प्रतिशत घटाउने योजनामा पनि लागू गर्न सकिन्छ, ईयूका मन्त्रीहरूले भने । बिजुली खपत घटाउने ईयू ऊर्जामन्त्रीको निर्णयलाई धेरै सदस्य राष्ट्रहरूको समर्थन गरेका छन ।
ईयू ऊर्जा मन्त्रीहरुको आकस्मिक बैठकले उपभोक्ताले तिर्नुपरेको ऊर्जाका गगनचुम्बी बिलहरू र रूसी प्राकृतिक ग्यासको मूल्य क्यापको बारेमा छलफल गर्न आयोजना भएको थियो। समूहले थप काम गर्नुपर्ने बताउँदै ठोस योजनाविना बैठक टुंगिएको हो ।
मूल्य क्यापिङमा संलग्न देशहरूमा ग्यास निर्यात रोक्ने रुसले चेतावनी दिएको छ । यदि ईयू रूसको हित विपरीत चल्यो भने युरोपलाई फ्रिज गर्ने धम्की उसले दिएको छ । ईयू रुसी तेल र ग्यास आम्दानीमा प्रतिबन्ध लगाउनका कटिवद्ध देखिन्छ ।
आजको आपतकालीन बैठकले उद्योग बन्दका कारण हुने आर्थिक उथलपुथललाई कम गर्न र ऊर्जाको गगनचुम्बी मूल्यलाई नियन्त्रण गर्न निर्णय गरेको छ । मूल्य वृद्धिका कारण इटालीको ऊर्जा आयात दोब्बर बढेर १ खर्ब युरो पुगेको छ ।
केही दिनअघि कच्चा तेलको भाउ घटेर ब्यारेलको ८७ डलर पुगेकोमा फेरी उकालो लागेको छ । शनिबार विश्व बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९४.३४ डलरसम्म पुगेको छ । ब्रेन्ट क्रुडमा पनि मूल्य बढेर ब्यारेलको ९२.८४ डलर पुगेको छ । रुस–युक्रेन युद्धले बढेको कच्चा तेलको लाभ ओपेक मुलुकहरुले लिइरहेका छन ।