काठमाडौं । विभिन्न क्षेत्रका ३१ कम्पनीले प्राथमिक सेयर (आइपिओे) निष्कासन गर्न लागेका छन्। आइपिओ निष्कासन गर्न उनीहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। तिनमा वित्तीय संस्था, उत्पादनमूलक तथा प्रशोधन उद्योग र जलविद्युत कम्पनी छन् ।
तीमध्ये १८ जलविद्युत, दुई लघुवित्त, दुई बिमा, दुई होटल, तीन उत्पादनमूलक तथा प्रशोधन, तीन अन्य क्षेत्रका कम्पनी र एक लगानी कम्पनी रहेको बोर्डले जनाएको छ।
बोर्डमा आवेदन दिने ३१ कम्पनीले कूल १० अर्ब १५ करोड ७ लाख रुपैयाँबराबरका ७ करोड २९ लाख कित्ता आइपिओे निष्कासन गर्नेछन्।
‘बुक बिल्डिङ’ विधिबाट आइपिओे निष्कासनवास्तविक क्षेत्रलाई पनि धितोपत्र बजारमा ल्याउन ‘बुक बिल्डिङ’ विधिबाट खुला गरेपछि पछिल्लो समय उत्पादनमूलक उद्योग आउन थालेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेमा उत्पादन तथा प्रशोधन उद्योग संख्या नगण्य छ।
हाल सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आइपिओे निष्कासन गर्न लागेका छन्।
सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता आइपिओे निष्कासन गर्ने भएको छ। सर्वोत्तमको मूल्य ५ सय १ देखि ७ सय ५१ रुपैयाँ ५० पैसा प्रस्ताव गरिएको छ।
रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार कित्ता आइपिओे निष्कासन गर्ने भएको छ। रिलायन्सले न्यूनतम ६ सय ८ देखि ९ सय १२ रुपैयाँ प्रस्ताव गरेको छ। उनीहरूले आफ्नो तर्फबाट मूल्य प्रस्ताव गरे पनि बोर्डले स्वीकृत गर्न बाँकी छ।
घोराही सिमेन्टको धेरै
बोर्डको पाइपलाइनमा रहेकामध्ये घोराही सिमेन्टले सबैभन्दा बढी परिमाणको सेयर जारी गर्दैछ। उसले ३ अर्ब ४४ करोड रुपैयाँबराबरका ७९ लाख ४३ हजार कित्ता सेयर जारी गर्ने भएको हो।
कम्पनीले आयोजना क्षेत्रका बासिन्दाका लागि ‘फेस भ्यालु’ मा ३ सय थप गरी प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणका लागि ३ सय ३५ थपेर ४ सय ३५ रुपैयाँमा आइपिओे निष्कासन गर्नेछ।
पछिल्लो समय आइपिओेमा लगानीकर्ताको आकर्षण बढ्दै जान थालेसँगै वित्तीय तथा जलविद्युतबाहेक अन्य क्षेत्रका कम्पनीको सेयर बजारमा उपस्थिति राम्रो देखिन थालेको छ। वित्तीय तथा जलविद्युत कम्पनीका हिस्सा ठूलो रहेको बजारमा अन्य क्षेत्रको सहभागिता बढ्दै गइरहेको छ।
यतिबेला बोर्डमा वित्तीय र जलविद्युतबाहेक नौ उत्पादनमूलक तथा प्रशोधन, होटल, लगानी र अन्य क्षेत्रका कम्पनीले आइपिओे निष्कासन आवेदन दिएका छन्।
जलविद्युत र वित्तीयबाहेक कम्पनी
मुक्तिनाथ कृषि कम्पनी, हाथवे इनभेस्टमेन्ट कम्पनी, सिटी होटल, टे«ड टावर कम्पनी, सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, डिस मिडिया नेटवर्क र कालिञ्चोक दर्शन लिमिटेडले आइपिओ निष्कासन गर्न आवेदन दिएका छन्।
तीमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्सले बुक बिल्डिङ विधिबाट र घोराही सिमेन्टले प्रिमियममा आइपिओे निष्कासन गर्नेछन्।
अन्य ६ कम्पनीले भने प्रतिकित्ता १ सय रुपैयाँ दरमा आइपिओे निष्कासन गर्ने भएका हुन्।
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपिओे निष्कासन गर्न अनुमति माग्दै २०७८ फागुन २० मा आवेदन दिएको थियोे। उसले ४ करोड रुपैयाँबराबरका ४ लाख कित्ता आइपिओे निष्कासन गर्ने छ। कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल हो।
त्यस्तै हाथवे इनभेस्टमेन्टले १४ करोड ६२ लाख रुपैयाँबराबरका २९ लाख २५ हजार कित्ता आइपिओे निष्कासन गर्न अनुमति माग्दै २०७८ चैत २५ मा आवेदन दिएको थियो। उसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
सिटी होटलले १६ करोड ७४ लाखबराबरका १६ लाख ७४ हजार कित्ता आइपिओे निष्कासन गर्ने छ। उसले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल चुनेको छ। कम्पनीले २०७८ चैत ३० मा आवेदन दिएको थियो।
टे«ड टावरले ११ करोड ५८ लाख ९८ हजारबराबरका ११ लाख ५८ हजार ९ सय ८० कित्ता आइपिओे निष्कासन गर्ने छ। कम्पनीले २०७९ असार १४ मा सर्वसाधारण लगानीकर्ताका लागि आइपिओे निष्कासन गर्ने गरी बोर्डमा आवेदन दिएको थियो। उसको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल हो।
त्यसैगरी डिस मिडियाले सर्वसाधारण लगानीकर्ताका लागि आइपिओे निष्कासन अनुमति माग्दै २०७७ असार ३० मा आवेदन दिएको थियोे। कम्पनीले २३ करोड ८५ लाखबराबरका २३ लाख ८५ हजार कित्ता आइपिओे निष्कासन गर्नेछ। उसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
कालिञ्चोक दर्शनले आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारण लगानीकर्ताका लागि आइपिओे निष्कासन अनुमति माग्दै २०७८ चैत १५ मा आवेदन दिएको थियो। कम्पनीले १२ करोड रुपैयाँबराबरका १२ लाख कित्ता आइपिओे निष्कासन गर्नेछ। उसको बिक्री प्रबन्धकमा नबिल इनभेस्टमेन्ट बैंकिङ छ।
त्यस्तै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तले ३ करोडबराबरका ३ लाख कित्ता आइपिओे निष्कासन अनुमति मागेको छ। बोर्डमा आवेदन दिनेमध्ये सबैभन्दा कम सेयर बिपिडब्लु लघुवित्तले जारी गर्ने छ। उसले ९७ लाख रुपैयाँबराबरका ९७ हजार कित्ता सेयर जारी गर्नेछ।
बोर्डमा रिलायबल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८७ करोड रुपैयाँबराबर सेयर निष्कासन आवेदन दिएका छन्।
रिलायबलले प्रिमियममा आइपिओे निष्कासन प्रस्ताव गरेको छ। उसले १ सय १२ रुपैयाँ प्रिमियम थपेर सेयर जारी गर्नेछ भने आइएमई लाइफले प्रतिकित्ता १ सय रुपैयाँमा सेयर जारी गर्नेछ।
बोर्डमा १८ जलविद्युत कम्पनीले आइपिओ निष्कासन आवेदन दिएका छन्। एसियन हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर माडी हाइड्रोपावर, शुभम पावर, इन्ग्वा हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावरले सेयर निष्कासन अनुमति मागेका छन्।
त्यसैगरी भूगोल इनर्जी डेभलपमेन्ट, मायाखोला हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सगरमाथा हाइड्रोपावर, डोल्टी पावर कम्पनी, अपर स्यांगे हाइड्रोपावर, रावा इनर्जी, सानिमा मध्यतमोर हाइड्रोपावर र कुथेली बुखारी साना जलविद्युतले सेयर जारी गर्नेछन्।
१८ मध्ये १६ कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारण लगानीकर्ताका लागि सेयर जारी गर्नेछन्। बाँकी दुई हाइड्रोले भने सर्वसाधारणका लागिमात्र आइपिओे निष्कासन गर्ने जनाएका छन्।
ती १८ कम्पनीले कूल ३ अर्ब ९७ करोड ८९ लाख रुपैयाँबराबरका ३ करोड ९६ लाख कित्ता आइपिओे निष्कासन गर्नेछन्।
एसियनले ११ करोड ८० लाखका ११ लाख ८० हजार कित्ता, बाराहीले ७ करोडका ७ लाख कित्ता, मोलुङले ३५ करोड ३१ लाखका ३५ लाख ३१ हजार कित्ता, सुपरमाईले १० करोडका १० लाख कित्ता, सुपर माडीले ३१ करोड ५० लाखका ३१ लाख ५० हजार कित्ता, शुभमले ५ करोड ८० लाखका ५ लाख ८० हजार कित्ता, इन्ग्वाले १८ करोडका १८ लाख कित्ता र मकर जितुमाया सुरीले २२ करोड ८० लाखका २२ लाख ८० हजार कित्ता सेयर जारी गर्ने छ।
त्यसैगरी भूगोल इनर्जीले १६ करोड ३२ लाखका १६ लाख ३२ हजार कित्ता, मायाखोलाले ३४ करोडका ३४ लाख कित्ता, थ्रिस्टारले १२ करोड ३१ लाखका १२ लाख ३१ हजार कित्ता, माइखोलाले १९ करोड २१ लाखका १९ लाख २१ हजार कित्ता, सगरमाथाले ५४ करोड ८८ लाखका ५४ लाख ८८ हजार कित्ता, डोल्टीले १६ करोड ९ लाखका १६ लाख ९ हजार कित्ता, अपर स्यांगेले ८ करोड ७० लाखका ८ लाख ८० हजार कित्ता, रावाले ८ करोड ४० लाखका ८ लाख ४० हजार कित्ता, सानिमा मध्यतमोरले ८३ करोड ३१ लाखका ८३ लाख ३१ हजार कित्ता र कुथेलीले २ करोड ४३ लाखबराबरका २ लाख ४३ हजार कित्ता सेयर जारी गर्नेछन्।
हाइड्रोपावर कम्पनीले आयोजना क्षेत्रका बासिन्दाका लागि न्यूनतम १० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ ।
चालू आर्थिक वर्षमा बोर्डले विभिन्न ४ वटा कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । ति कम्पनीहरुले ९७ करोड ६५ लाख रुपैयाँ बराबरको ९७ लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन ।
आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा इस्र्टन हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।