काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले गरेको व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारण सभालाई बिहिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक प्रगति गर्दा समग्र मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै राज्यले सकारात्मकरुपमा लिनुपर्ने बताएका हुन् ।
निजी क्षेत्रले तिर्ने राजश्व र करबाट राज्यले पूर्वाधार निर्माण र आर्थिक गतिविधि विस्तार गर्ने गरेको उनले बताए । निजी क्षेत्रले व्यवसायबाट नाफा आर्जन गर्छ भने त्यो रकम उसले नयाँ उद्योग व्यवसाय सुरुवात गर्ने, थप रोजगारी सिर्जना गर्ने र पूर्वाधार निर्माण गर्ने काममै लगाउने भएकाले सकारात्मक रुपमा लिन आग्रह गरे ।
'मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रकाे ७० प्रतिशतभन्दा बढी योगदान छ। जसले रोजगारी सिर्जना गर्न सहयाेग गरेको छ । राजश्वमा योगदान गरेको छ र समग्र आर्थिक सम्मृद्धिमा यसको ठूलो योगदान छ,' उनले भने, 'त्यसैले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ।' राज्यले निजी क्षेत्रलाई थप विकास र विस्तारका लागि सहजीकरण गर्नुपर्ने उनकाे भनाइ छ ।
निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणबाट आम मानिसको धारणा बन्ने भएकाले तीन तहको सरकारबाट सहजीकरण हुन सकेमा निजी क्षेत्रले छोटो समयमै मुलुकको आर्थिक विकास र समृद्धिको लागि धेरै काम गर्ने बताए ।
ललितपुर उद्योग वाणिज्य संघले नेपालको उद्योग वाणिज्य क्षेत्रको विस्तारमा पुर्याएको योगदानको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आगामी दिनमा महासंघले ललितपुर उद्योग वाणिज्य संघसँग थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।