काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि तथा कनिका निर्यातमा रोक लगाएकाे छ ।
भारतले बुधबार आफूले निर्यात गर्ने सेतो, खैरो धान र चामलमा २० प्रतिशत कर वृद्धि तथा कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस्तै, नेपाल दाल चामल उद्योग संघका अनुसार पनि भारतले धान र चामलमा कर वृद्धि गर्नुका साथै कनिका निर्यातमा राेक लगाएकाे छ । भारतले निर्यातमा रोक लगाउन खाेजेकाे देखिने बताउँदै संघले यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेकाे जनाएकाे छ ।
भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदिरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्ने देखिन्छ।
आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको बताइएकाे छ ।
भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । नेपालले २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल आयात गरेकाे थियाे ।
यस्तै, नेपालले १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका आयात गरेको थियो । यसअघि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाइरहेको छ ।
चामलको उत्पादन घटेकाले निर्यातमा प्रतिवन्ध-खाद्य सचिव पाण्डे
भारतका खाद्य सचिवले सुधांशु पाण्डेले देशमा चामलको उत्पादन घट्दै गएकाले खाद्यान्नको निर्यातमा प्रतिबन्ध लगाउन बाध्य भएको बताएका छन् । खडेरीका कारण चालु आर्थिक वर्ष २०२२/२३ बाली वर्षमा धान उत्पादन ८० लाख टन घट्न सक्ने अनुमान गरिएको छ।
सबैभन्दा खराब अवस्था आएमा १ करोड २० लाख टनसम्म खाद्यन्न कम हुन सक्ने खाद्य सचिव पाण्डेले बताएका छन् ।
धान रोपाइ ३८.०६ लाख हेक्टर घटेको छ । यसबाट उत्पादनमा करिब एक करोड टन नोक्सान हुनसक्ने अनुमान सरकारको छ । सबैभन्दा खराब अवस्थामा यो वर्ष विभिन्न कारणले १ करोड २० लाख टन हुन सक्ने उनको भनाइ छ ।
अहिले औसत भन्दा कम मनसुन देखिएको छ । भारतले आपूर्तिलाई बलियो बनाउन खोजेको छ। पछिल्लो केही महिनामा ढुवानीमा तीव्र वृद्धि भएपछि भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाउनुपरेको बताए।
सन् २०२२ मा कनिकाको मूल्य हालसम्म ३८ प्रतिशतले बढेको छ भने अप्रिल–अगस्टमा निर्यात बढेर २१ लाख ३० हजार टन पुगेको छ। जुन अघिल्लो वर्षको १५ करोड ८० टन थियो। तर, धान उत्पादनमा भारत अझै बढी रहेको पाण्डेले बताए ।