काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मलेन, २०२२ को दोस्रो दिन (शुक्रबार) को ‘इन्फ्राइस्टक्चर मार्केटप्लेस’ सत्रमा सचिव सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका हुन्।
‘तपाईंहरूले यस्तो फोरममा मात्रै होइन, त्यस्तो आइडिया लिएर हामी कहाँ आउनस् हामी लगानी गर्न तयार छौं,’ उनले भने। स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए।
सत्रमा सहभागी पाँचै जना व्यक्तिले अत्यन्तै राम्रो र समय सान्दर्भिक आइडिया राखेको उनको भनाइ छ। नयाँ युवाहरूलाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उनले बताए।
यस्तो कार्यक्रमले बजारमा नयाँ आइडिया सिर्जना गर्न मद्दत पुर्याउने उनको भनाइ छ। ‘छोटो समयमा राखिएका पाँचै जनाका आइडिया राम्रा छन्,’ उनले भने, सबैलाई विजेता घोषण गर्न सकिँदैन। विजेता हुनेलाई बधाई छ, अन्य चारै जनालाई पनि समान बधाई छ।’
साे सत्रमा ५० वटा आवेदनबाट छनोट भएका १० मध्येबाट पनि उत्कृष्ट पाँच श्रेणीमा परेका पाँच जनाले आफ्नो आइडिया राखेका थिए। पाँचवटामध्ये एउटा घर बनाउने, दुईवटा ट्राफिक व्यवस्थापन र दुई वटा हार्बेस्टसम्बन्धी आइडिया सेयर गरिएको थियो।
सुमनराज भारतीले घर बनाउ डटकम आइडिया सेयर गरेका थिए। घर बनाउन अब झन्झट छैन। सामान किन्दा ठगिएला कि भन्ने डर पनि छैन। घर बनाउन आवश्यक प्रक्रियादेखि सबै सामान अनलाइन बजारमा पाइन्छ।
उनको आइडियामा जजहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिएन। उनले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दावी गरे।
जोसेप श्रेष्ठले हाइवे एण्ड एडप्टिक ट्राफिक म्यानेजमेन्ट कन्ट्रोल सिस्टम आइडिया सेयर गरेका थिए। उनको आइडियाअनुसार डिभाइसमार्फत गाडीको अनुगमन गर्न सकिने थियो। उनको आइडियामा जजहरूले सर्भिस पछिको सेवा र त्यसको कसरी उपयोग गर्ने भन्नेबारे प्रश्न उठाएका थिए।
त्यसमा उनले आफूले यसलाई चलाउन सिकाएर बेच्ने गरेको बताए।अर्का आइडिया मास्टर सौरभ सिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गरेका थिए। त्यस्तै, कपिल अधिकारीले ट्राफिक ट्रयाकिङसम्बन्धी आइडिया सेयर गरेका थिए।
उनले तथ्यांक संकलन गरेर कहाँबाट कस्ता गाडि गइरहेका छन् भनेर ट्राफिक व्यवस्थापन गर्न सकिने बताएका थिए। पदम थापाले पनि ट्राफिक व्यवस्थापन सम्बन्धी आइडिया राखेका थिए। उनले गाडीको चाप भएको क्षेत्रमा अटोमेटिक रूपमा ट्राफिक लाइट परिवर्तन गराउने आइडिया थियो।
उनको आइडियामा जजहरूले यो आइडियाले पिक आवरमा कति समय बचत गर्ने सक्ने प्रश्न राखेका थिए। उनले आफ्नो आइडियाले ७५ प्रतिशत समय बचत हुने बताएका थिए।
आइडिया मास्टर किरण गुरूङले धान रोप्ने मकै, कोदो काट्ने मेसिनको आइडिया प्रस्तुत गरेका थिए। उनले पहिले धान रोप्न र काट्नको लागि फरक फरक मेसिन उपयोगन हुनेमा आफूले एकै मेसिनले दुवै गर्न सकिने आइडिया प्रस्तुत गरेका थिए।
आइडिया मास्टरहरूको मूल्यांकनका लागि यातायात सचिव गोपालप्रसाद सिग्देलसहित, नेपाल विद्युत प्राधिकरणका इञ्जिनियर हरिबहादुर दर्लामी, पूर्वाधार विज्ञ इञ्जिनियर कमलराज पाण्डे, आर्किटेक्चर राजेश थापा, आर्किटेक्चर तुकलाल अधिकारी, प्राची अग्रवाल, विद्यतु प्राधिकरणका पूर्वअध्यक्ष डा. हरेराम श्रेष्ठ र आइडिया स्टुडियोका अध्यक्ष डा. तेर्सिङ लामा थिए।
आइडिया पूर्वाधारमा काम गर्छ कि गर्दैन, यसको फाइदा, असर, प्रभाव, संभाव्यता, दीर्घकालीन तथा लगानीमा आधार रहेर मूल्यांकन हुनेछ। विजेता साझँ घोषण गरिने आयोजकले जानकारी दिएको छ।