काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्रान्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले भाेलि शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरूलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरू प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरू प्राप्त गरी मिस ग्रान्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरूले भदाै २५ गते शनिबार होटल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ ।
विजेताले मिस ग्रान्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेसन शो र रनवेमा सहभागिता, म्युजिक भिडियो, पत्रपत्रिका÷म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ ।
प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिनेछन् ।
मिस ग्रान्ड नेपाल २०२२ का निर्णायक मण्डलका रूपमा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्रान्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धीलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ । प्रतियोगिता ३ सय ६५ इभेन्ट्स एन्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।