काठमाडौँ । नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुले नगद प्रवाहमा आधारित कर्जा प्रवाह नगरेको विश्व बैङ्कले औल्याएको छ । अन्य विकासशील राष्ट्रहरूमा जस्तै नेपालका वाणिज्य बैङ्कहरूले नगद प्रवाहमा आधारित कर्जा प्रवाह नगरेको तथा अधिकांश कर्जा धितोमा आधारित भएको बिश्व बैङ्कले जनाएको छ । जसले गर्दा पर्याप्त सम्पत्तिको अभावका कारण साना तथा मझौला उद्योगहरुलाई कर्जा प्राप्तिमा समस्या हुने गरेको छ ।
नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागले साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धमा गरेको अध्ययनमा विश्व बैङ्कले यस्तो ठहर गरेको उल्लेख छ । राष्ट्र बैङ्कका अनुसार विश्व बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनमा डोल्मा, बीओटु, ट्रीयु नर्थ एसोशियट र वन टु वाचलगायतका नेपालमा चार वटा लगानी सम्बन्धी फर्महरुले प्राइभेट इक्विटी सरह काम गरिरहेको उल्लेख छ ।
उक्त अध्ययनमा धितो र कागजातको अभावको कारण धेरै साना तथा मझौला उद्योगले व्यवसाय गर्न अनौपचारिक वित्तीय स्रोत प्रयोग गर्ने गरेको जनाइएको छ । यस्ता स्रोतहरु छोटो समयावधिको लागि उपलब्ध हुने र उच्च ब्याजदर रहने हुँदा व्यवसाय वृद्धीमा अवरोध सिर्जना भएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
मार्च २०१७ सम्ममा उक्त फर्महरुले संयुक्तरूपमा झण्डै ५ अर्ब रुपैयाँ अर्थात ४ अर्ब ८ करोड अमेरिकी डलर लगानी गरेको छ । त्यसमध्ये डोल्मा र बिओटुले क्रमशः २.६ करोड र १.४ करोड अमेरिकी डलरको पुँजी व्यवस्थापन गरेको उल्लेख छ । त्यस्तै, डोल्मामा डेभलपमेन्ट फाइनान्सीङ इन्स्सीच्युशन (डिएफएलएस) ले ९५ प्रतिशत जलविद्युत र साना तथा मझौला उद्योगमा लगानी गर्दै आएको जनाएको छ ।
नेपाली कम्पनीको रूपमा दर्ता भई पूर्णरूपमा डिएफएलएसबाट लगानी भएको बिओटुको लगानी क्षेत्र साना तथा मझौला उद्योग रहेको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै बिड म्यानेजमेन्टका अनुसार आर्थिक बर्ष २०७४०७५ मा नेपालको एसएमई क्षेत्रमा कुल औपचारिक कर्जा अन्तर कुल गार्हस्थ्य उत्पादनको करिब १५ प्रतिशत छ ।
औपचारिक कर्जा भने अस्थिर ब्याजदर र उच्च कर्जा जोखिमले प्रभावित हुने गरेको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ । त्यसैगरी, सक्षम एक्सेस टु फाइनान्सका अनुसार नेपालमा झण्डै डेढ खर्ब रुपैयाँ अर्थात १.२ अर्ब अमेरिकी डलर साना तथा मझौला उद्योग औपचारिक कर्जा अन्तर रहेको देखिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्नप्रोत्साहन नगरेसम्म साना तथा मझौला उद्योगको क्षेत्र वित्तीय साधनको लागि आफ्नै स्रोत वा लघुवित्त रअनौपचारिक क्षेत्रमा आश्रित हुन वाध्य हुने गरेको अध्ययनले देखाएकोे छ । उक्त अध्ययनमा कर्जा सुरक्षण योजनाको सफलताको लागि सोचयुक्त प्रारुप, बलियो संगठन र कोषको स्रोतमहत्वपूर्ण हुने उल्लेख छ ।
हालको निक्षेप तथा कर्जा सुरक्षण कोषको कर्जासुरक्षण योजनालाई विस्तार गर्न वा केन्द्रीय बैङ्क तथा वित्तीय संस्थाको स्वपँुजी (इक्विटी) सहभागितमा स्वायत्त र समर्पित कर्जा सुरक्षण संस्था स्थापना गर्न सकिने उल्लेख छ ।