काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । शुभ इन्टरनेसनल हस्पिटालिटी प्राइभेट लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो ।
होटल भारतको प्रसिद्ध ब्रान्ड 'लेमन ट्रि प्रिमियर' को नाममा सञ्चालन हुने भएको छ । होटलको व्यवस्थापन कर्निसन होटल्स प्राइभेट लिमिटेडले लिएको छ । होटलमा ४७ प्रतिशत संस्थापकको स्वपुँजी लगानी र बाँकी ५३ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ ।
हालसम्म होटलको ३७ प्रतिशत वित्तीय प्रगति भएको छ । प्रस्तावित पाँचतारे होटलमा ८० वटा कोठाहरु छन् । लेमन ट्रि प्रिमियर राम्रो ब्रान्ड भएकाले होटललाई यसबाट राम्रो लाभ हुने अपेक्षा गरिएको छ ।
नेपाल–भारत सिमाना नजिक विराटनगरमा भएकाले लोकेसनबाट पनि होटलले फाइदा लिन सक्नेछन् । भारतीय ब्रान्ड लेमन ट्रि प्रिमियरको नाममा सञ्चालन हुने भएकाले भारतीय पर्यटक आउने अपेक्षा गरिएको छ ।
कर्निसन होटल लेमन ट्रि होटल लिमिटेडको सहायक कम्पनी हो । यो भारतको नयाँ दिल्लीलगायत ५० स्थानमा छ । भारतीय बजारमा विभिन्न ब्रान्डहरू जस्तै लेमन ट्रिमार्फत स्थापित छ ।
प्रिमियर, सिट्रस क्याफे र रिपब्लिक अफ नुडल्स र भारतभर ५० भन्दा बढी स्थानहरूमा सञ्चालनमा छ ।
कम्पनीले ८४ करोड २५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । होटलको ५४ प्रतिशत ऋण लगानी निश्चित भएको छ । शुभ इन्टरनेसनल हस्पिटालिटी सन् २०११ मा स्थापना भएको हो । पहिला नेपाल बजार डिपार्टमेन्टल स्टोर रहेको थियो ।
सन् २०१९ मा नेपाल बजार बन्द भयो । होटलमा कविन श्रेष्ठ, विनयकुमार अग्रवाल चौधरी, सीतादेवी चौधरी अग्रवाल र गंगा खतिवडाको लगानी छ ।
कम्पनीको अध्यक्षमा कविन छन् । कम्पनीमा कविनको २५, विनयको ३०, सीतादेवीको ४० र गंगाको ५ प्रतिशत सेयर लगानी रहेको छ ।