काठमाडौं । सरकारले ३ अर्ब रुपैयाँबराबर पुँजी पुर्याए नयाँ स्टक खोल्न दिने भएको छ। नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले लगानी गर्न पाउने छन्।
नयाँ स्टक एक्सचेन्जमा अधिकतम १५ प्रतिशत होल्डिङ रहनुपर्ने व्यवस्था रहेको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए।
‘
यसअघि १० प्रतिशतमात्रै राख्न होल्डिङ रहनुपर्ने व्यवस्था थियो,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राखेको जस्तै गरेर १५ प्रतिशत होल्डिङको प्रावधान राखिएको हो।’ उनका अनुसार विनियमावलीले स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने व्यवस्था समेटेको छ।
यसअघि नयाँ स्टक एक्सचेन्जमा बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी र सूचीकृत कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको केसीले बताए।
यसअघि ५ करोड पुँजी भए नयाँ स्टक खोल्न पाइने प्रावधान संशोधन गरी ३ अर्ब रुपैयाँ पुर्याइएको केसीले बताए।
लामो समयदेखि लगानीकर्ताले खोजेको नयाँ स्टक एक्सचेन्ज खोल्न दिने गरी नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो।
अर्थबाट मन्त्रिपरिषद गएको संशोधन सोमबार अनुमोदन भएको छ । मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको संशोधित नियमावली बिहीबारै माइन्युट गरी धितोपत्र बोर्ड पठाउने भएको छ ।
बोर्डले मन्त्रिपरिषदको निर्णय पाएलगतै नयाँ स्टक एक्सचेन्ज अनुमति दिने प्रक्रिया अगाडि बढाउने छ ।