काठमाडौं । नेपाल र चीनबीच दुई देशीय विद्युत् पारवहनको लाइफ लाइन मानिएकोे रातामाटे-रसुवागढी-केरुङ ४०० केभी प्रसारण लाइन आयोजना नेपाल र चीन सरकारबीच (जीटुजी) मोडेलमा अघि बढ्ने भएको छ । यसअघि चिनियाँ र नेपाली पक्षबीच ज्वाइन्ट स्टेरिङ मिटिङमा जीटुजी मोडेलमा निर्माण गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ ।
यही महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा आयोजना प्रस्ताव गरिने आयोजनाप्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए । सी दशैंपछि औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन् । सो अवसरमा दुई देशीय विद्युत् पारवहन वा ग्रीड कनेक्टिभिटी तथा पावर एग्रिमेन्टमा सम्झौता हुने आत्रेयले बताए ।
छ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन र डिजाइनको काम स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाले गरिरहेको छ ।
एक वर्षभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण हुनेछ । अहिले प्रसारण लाइनको सर्भे, अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको छ ।
२१४ ओटा टावर निर्माण हुने
अहिले केरुङदेखि रातामाटेसम्म ७० किलोमिटरको प्रसारण लाइनमध्ये ३१.५ किलोमिटर क्षेत्रमा निकुन्ज र वन पर्छ । तर, निकुन्ज छलेर ल्याउँदा पनि ५ किलोमिटर क्षेत्रमा वन पर्छ । सो वनक्षेत्रमा रुख कटान र जग्गा प्राप्तिका लागि सहमति प्राप्त भइसकेको छ ।
उक्त खण्डमा २१४ ओटा टावर निर्माण गर्नुपर्ने देखिएको छ । रातामाटेमा ४०० केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ । मिलेनियम च्यालेन्ज कर्पोरेसनको ५० अर्ब रुपैयाँ अनुदान र ऋणमा सबस्टेसन बन्दैछ ।
मुलुककै विद्युत् हब रातामाटे
चीनबाट आउने ५०० केभीको प्रसारण लाइन केरुङसम्म सप्लाइ हुनेछ । त्यसपछि केरुङ बोर्डरबाट ७९ किमि पर रहेको जिरोङमा कन्भर्ट सबस्टेसन बन्नेछ । सो सबस्टेसन चिनियाँ पक्षले बनाउनुपर्ने भए पनि नेपाली पक्षको पनि लगानी रहनुपर्ने चिनियाँ पक्षको भनाइ छ ।
रातामाटे देशकै ठूलो विद्युत् हबका रुपमा विकास हुनेछ । जहाँ, मुलुकका आठ ओटा उच्च क्षमताका प्रसारण लाइन पनि त्यसैमा जोडिनेछन् । गल्छीदेखि १२ किलोमिटरमाथि पर्ने रातमाटेमा ४०० र २२० केभीका प्रसारण लाइन जोड्न सबस्टेसन बन्नेछन् ।
चीनको ल्हासादेखि रातमाटे जोड्ने ४०० केभी, लप्सीफेदीदेखि रातमाटे आउने ४०० केभी, रातमाटे-दमौली-न्यु बुटवल जाने ४०० केभी र रातमाटेबाट हेटौँडा जोड्ने ४०० केभी प्रसारण लाइन रातमाटे सबस्टेसनमै जोडिनेछन् । त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणपश्चात् ४०० केभीको अर्को प्रसारण लाइन पनि जोड्न सकिने सम्भावना देखिएको छ ।
त्यसैगरी त्रिशूली ३ ‘बी’बाट रातमाटे जोड्ने २२० केभी प्रसारण लाइन, धादिङ-तातोपानी-बोरुङ २२० केभी प्रसारण लाइन, बोरुङ-रातमाटे २२० केभी र मर्स्याङ्दीदेखि काठमाडौं जोड्ने प्रसारण लाइनलाई पनि रातमाटे सबस्टेसनमै लैजाने गरी सर्भे भएको आत्रेयको भनाइ छ ।
रातामाटे सबस्टेसन बनाउन जग्गा अधिग्रहण
प्रसारण लाइन निर्माणका लागि सबै प्रसारण लाइन जोडिने सबस्टेसन रातमाटेमा झन्डै ६ सय २५ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । हाल चिलिमे आयोजनाअन्तर्गतका रसुवागढी, सान्जेन, रसुवा भोटेकोसी तथा तल्लो सान्जेन जलविद्युत् आयोजना निर्माणका चरणमा छन् ।
ती आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली र चिलिमे करिडोरमा जोडिने छ । दुवै करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनको रुपमा रातामाटे-केरुङ प्रसारण लाइनमै जोडिने छ ।
सुरुमा सम्भाव्यता अध्ययन गर्दा गल्छीमा सबस्टेसन बनाउने निर्णय भए पनि पछि गल्छीदेखि १२ किलोमिटरमाथि रातमाटेमा सबस्टेसन बनाउने सहमति भएपछि प्रसारण लाइनको दूरी घटेको छ । आयोजना निर्माणका लागि झन्डै १० अर्ब रूपैयाँ लागत इस्टिमेट गरिएको आयोजनाले जनाएको छ ।