काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ ।
आयोजना निर्माणका लागि मोदी जलविद्युत कम्पनी लिमिटेडले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) आब्हान गरेको छ । आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने गरी कम्पनीले ग्लोबल टेन्डरको आह्रवान गरेको हो ।
छनौट हुने निर्माण व्यवसायीले आयोजनाको सिभिल संरचना, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम गर्नुपर्ने हुन्छ । बोलपत्रमा भाग लिने विदेशी कम्पनीले नेपाली निर्माण व्यवसायीसँगको साझेदारी (जेभी) गर्नुपर्ने छ ।
कम्पनीले आउँदो सेप्टेम्बर ३० तारिखमा प्रि–बिडिङ बैठक बोलाएको छ । बोलपत्र पेस गर्ने अन्तिम दिन अक्टुबर २३ तारिखलाई तोकिएको छ । सोही दिन बोलपत्र खोलिने भएको छ ।
बोलपत्रमा भाग लिने निर्माण व्यवसायीले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने भएको छ । टु इन्भेलोप सिङगल स्टेजको बोलपत्र पेस गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
यस्तै बोलपत्रमा भाग लिने कम्पनीहरुले १४ लाख डलर धरौटी राख्नुपर्ने व्यवस्था बोलपत्रमा गरिएको छ । बोलपत्रमा भाग लिने निर्माण व्यवसायीले ४० मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरेको हुनुपर्ने छ ।
यस्तै न्यूनतम २ करोड ३० लाख डलरको आयोजना सम्पन्न गरेको हुनुपर्ने व्यवस्था छ । ठेक्का सम्झौता भएपछि औपचारिक रुपमा आयोजना निर्माण सुरु हुनेछ ।
एनएमबी बैंकले ऋण लगानी गर्ने
आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । आयोजना कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण लगानीमा बन्ने तयारी भए पनि प्रक्रियागत कारणले ढिलाइ हुने भएपछि नेपाली लगानीमा बन्न लागेको हो ।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ऋण लगानी गर्न सहमत भएको विकासकर्ता मोदी जलविद्युत कम्पनीले जनाएको । सहमति भए पनि ऋण लगानी सम्झौता हुन बाँकी छ ।
एनएमबी र एचआईडीसीएलले आयोजनामा ८ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । आयोजना बनाउन १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
जसमध्ये ७० प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ऋण र बाँकी ३० प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइने भएको छ । जसमा विद्युत प्राधिकरण र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर इक्विटी जुटाइने कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्न विद्युत प्राधिकरणमा निवेदन दिएको छ । विद्युत प्राधिकरणसँग पीपीए भएपछि बैंकसँग ऋण लगानी सम्झौता हुने भएको छ ।
४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो गरी २ आयोजना अघि बढाउन कोरियाको एक्जिम बैंकसँग ऋण लिन प्रक्रिया अघि बढेको थियो । ऋण लिन विद्युत प्राधिकरणले ऊर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो ।
४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । आयोजनाको प्रारम्भिक सबै काम पूरा भएकाले निर्माणको चरणमा जान लागेको छ । मोदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । जसमा विद्युत प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ । आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ । माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुवैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ ।
माथिल्लो आयोजनाको हेड २८६ र तल्लोको १३५ मिटर रहेको छ । आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) बनाउने प्रस्ताव गरेको थियो ।
के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो । के वाटरपछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएको हो । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो ।