काठमाडौं । प्रस्तावित दाङ सिमेन्ट र लगानी बोर्डबीच १० महिनाभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्नुपर्ने छ । लगानी बोर्ड बैठकले आगामी २०८० असारभित्र पिआइए गर्न समयसिमा दिएको छ । पिआइए गर्नुअघि दाङ सिमेन्टका लगानीकर्ता र बोर्डबीच सिमेन्ट उद्योग स्थापना गर्न समझदारीपत्र (एमओयु) गर्नुपर्ने हुन्छ ।
अर्को वर्ष असारभित्र दाङ सिमेन्टसँग पिआइए गर्नुपर्ने बोर्डका एक अधिकारीले बताए । पिआइए भएपछि सिमेन्ट उत्पादन गर्न कारखाना स्थापना र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) पाउने छ ।
यद्यपि, उद्योगले कहिलेदेखि सिमेन्ट उत्पादन थाल्ने भन्ने निश्चित भएको छैन । अहिले उद्योग स्थापना गर्न प्रारम्भिक काम भइरहेकाले कारखाना पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन ।
नेपाल–चीन संयुक्त लगानीमा स्थापना हुन लागेको दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन छ । उद्योगले आफूलाई चाहिने कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने छ ।
बोर्डले सिमेन्ट उद्योगका लागि साढे ३२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ ।
उद्योगमा चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट, विजय दुगड, केसी ग्रुप र कृष्णमुरारि अमात्यको लगानी हुनेछ । लगानी बोर्डको २०७७ असार ५ मा बसेको बोर्ड बैठकले लगानी स्वीकृत गरेको हो ।
सिमेन्ट कच्चा पदार्थ क्लिंकर उत्पादन गर्न उद्योगले खानी लिइसकेको छ । उद्योगले जग्गा खरिद साथै खानी सञ्चालन अनुमति पनि पाइसकेको छ ।
यस्तै उद्योग परिसरमा सडक र विद्युत प्रसारणलाइन पूर्वाधार पुगिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत भइसकेको र थप ईआइए हुन बाँकी छ । पहिला पोखराका केसी समूहले दाङमा सिमेन्ट उद्योग स्थापना तथा क्लिंकर उत्खनन अनुमति लिएको थियो ।
तर, अनुमति लिएको डेढ दशकसम्म पनि उद्योग स्थापना हुन सकेन । केसी समूहका अध्यक्ष सूर्यबहादुर केसीले उद्योग खोल्न नसकेपछि भारतीय कम्पनी अम्बुजा सिमेन्टलाई बहुमत सेयर बिक्री गरे ।
उद्योगले कूल ४० मेगावाट विद्युत खपत गर्ने छ । त्यसमध्ये १२ मेगावाट उद्योगले नै उत्पादन गर्ने छ । उद्योगबाट निस्किने धुलोबाट विद्युत उत्पादन गर्ने छ ।
खानीबाट उद्योगसम्म क्लिंकर ल्याउन करिब सात किलोमिटर लामो ‘कन्भेयर बेल्ट’ निर्माण गरिने छ । हाल ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा थप ३० बिघा जमिन थप्ने कम्पनीको योजना छ । योजनाअनुसार जग्गा खरिद गर्ने प्रक्रियासमेत अघि बढाइसकेको छ ।
सिमेन्ट कारखाना पूर्वाधार तयार नहुँदै भारतको अम्बुजा सिमेन्ट लिमिटेड बाहिरिएको छ । आफ्नो स्वामित्वमा रहेको सबै सेयर चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङ्सलाई बिक्री गरी नेपालबाट बाहिरिएको हो ।
अम्बुजाले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा हस्तान्तरण गरिसकेको छ ।
सिमेन्टमा चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ९५ प्रतिशत स्वामित्व हुनेछ । बाँकी नेपाली लगानीकर्ताको हुनेछ । सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ ।
दाङ सिमेन्टमा अब चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ । त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारि अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको राजिस्ट्रारको कार्यालयले जनाएको छ ।
दाङ सिमेन्ट चीनको हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो । यसअघि नेपाली साझेदार शिवम सिमेन्ट लिमिटेडको ३० र हङकङ रेडलायनको ७० प्रतिशत लगानीमा स्थापना गरेको होङसी सिमेन्ट रहेको छ ।आफ्नै क्लिंकर उत्पादन गर्ने खानीसमेत रहेको होङ्सीको दैनिक उत्पादन क्षमता ६ हजार टन छ ।