काठमाडौं । ऐतिहासिक ‘भीसमेन स्तम्भ’ (धरहरा) को टुप्पोमा पुगेर काठमाडौं उपत्यका दृश्यावलोकन गर्न अझै धेरै समय कुर्नुपर्ने भएको छ ।
धरहरा निर्माण पूरा गर्न पाँचौंपटक म्याद थप्नुपर्ने अवस्था आएपछि टुप्पोबाट दृश्यावलोकन गर्न अझै समय लाग्ने भएको हो । यसअघि २०७८ चैतमा धरहरा निर्माण पूरा गर्न चौथोपटक म्याद थप भएको थियो ।
चौथोपटक थपिएको म्यादअनुसार धरहरा निर्माण जिम्मेवारी लिएको रमन कन्स्ट्रक्सनको म्याद २०७९ पुससम्म छ । उक्त अवधिमा पनि निर्माण पूरा नहुने भन्दै रमन कन्स्ट्रक्सनले फेरि म्याद थप्नुपर्ने जनाएको हो ।
गत वैशाखमा ७८ प्रतिशत भौतिक प्रगति गरेको रमनले यो भदौ तेस्रो साता आइपुग्दा पनि भौतिक प्रगति ७८ प्रतिशतमात्रै भएको जनाएको छ ।
पाँच महिनासम्म पनि भौतिक प्रगतिको प्रतिशत नबढ्नु वा शून्य देखिनुको कारण वैशाखमा सुरु गरिएका संरचना निर्माण पूरा नहुनु रमनको भनाइ छ ।
रमनका आयोजना प्रबन्धक सञ्जय नकर्मीका अनुसार काम सुरु भए पनि पूरा नहुँदा प्रगति भएको भन्न मिल्दैन । सोही कारण वैशाखदेखि हालसम्मको प्रगति विवरण बढ्न नसकेको हो ।
दसैंमा धरहरा चढ्न नपाइने
चौथोपटक म्याद थप्ने बेला गत वैशाखमा रमन कन्स्ट्रक्सनले यसपालि दसैंमा सर्वसाधारणले धरहरा चढ्न पाउने जनाएको थियो । दसैंसम्म सम्पूर्ण निर्माण पूरा नभए पनि धरहरा चढ्न सकिने गरी काम गर्ने जनाएको थियो । तर, पाँच महिना बित्दासम्म उल्लेख्य प्रगति गर्न नसकेको रमनले अब धरहरा सर्वसाधारणका लागि खुला गर्ने समय नै अनिश्चित भएको जनाएको छ ।
‘सुन्धारामा पानी ल्याउने र बाहिर पठाउने काम बाँकी नै छ । अन्य मुख्य काम पनि गरेको छैन,’ रमनका आयोजना प्रबन्धक नकर्मीले क्यापिटल नेपालसँग भने, ‘त्यही भएर अहिले नै धरहरा चढ्ने मिति भन्न सकिँदैन ।’
धरहरा पुनर्निर्माण गर्ने रमन कन्स्ट्रक्सन परिचालन गर्ने सरकारी निकाय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई हो । यसअघि धरहरा पुनर्निर्माण जिम्मेवारी पुनर्निर्माण प्राधिकरणको थियो । प्राधिकरणको म्याद सकिएपछि २०७८ पुस ९ बाट बाँकी रहेको काममा सुपरीवेक्षण गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको थियो ।
इकाई आयोजना प्रमुख कोषनाथ अधिकारी पनि दसैंमा सर्वसाधारणलाई धरहरा खुला गर्ने सम्भावना कम हुँदै गएको स्वीकार्छन् । ‘हामीले लक्ष्य त दसैंमा खुल्ला गर्ने नै राखेका थियौं तर सम्भावना अब कम हुँदै गएको छ,’ अधिकारीले भने, ‘यसबीच निर्माण व्यवसायीको कन्स्ट्रक्सन होलिडेको असर पनि पर्याे ।’
रमनले समयमै काम गर्न नसक्नुको अर्को कारण ठेक्का सम्झौतामा उल्लेख गरिएभन्दा पछि जिम्मेवारी थपिनु पनि हो । स्थानीयले पनि उनीहरूको मागअनुसार परम्परागत रूप नबिगारी काम गर्नुपर्ने माग राख्दै आएकाले निर्माणमा समस्या भएको हो ।
सुन्धारामा परम्परागत रूपमा पानी ल्याएर पुरानै शैलीमा पानी निकास व्यवस्था नगरेसम्म धरहरा निर्माण गर्न नदिने अडान स्थानीयले गर्दै आएपछि निर्माणको काम लम्बिँदै गएको हो । सुन्धाराको पानी जमिनमुनिबाट निकासी गर्न नौ मिटरसम्म जमिन खन्नुपर्ने आयोजना प्रमुख अधिकारी बताउँछन् ।
तर, पूर्वतयारी र अध्ययनबिना नौ मिटर जमिन खन्दा वरिपरिका घर ढल्ने सम्भावना भएकाले उपयुक्त अवस्था बनाएरमात्रै काम गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपालमा राम्ररी पूर्वअध्ययन नभई काम सुरु गर्ने परम्पराले गर्दा निर्माणका काम दिगो नहुने र निर्माण कार्य पनि ढिलो हुने गर्छ,’ उनले भने ।
भवन विभाग म्याद नथप्ने पक्षमा
निर्माण कम्पनी रमनले फेरि म्याद थप्नुपर्ने बताए पनि भवन विभाग भने म्याद नथपी पुसभित्र काम पूरा गराउने पक्षमा छ । सुरुमा सम्झौता गरिएभन्दा अहिले निर्माण कम्पनीले गर्नुपर्ने काम बढेको छ । यद्यपि, धेरै समय नलगाइ निर्माण पूरा गर्नुपर्ने आयोजना प्रमुख अधिकारी बताउँछन् ।
‘कानुनीरूपमा निर्माण पूरा गर्न नसक्नुका कारण स्पष्ट देखियो र म्याद थप गर्नैपर्ने अवस्था रह्यो भने छुट्टै कुरा हो,’ उनले भने, ‘होइन भनने अब म्याद थप्ने पक्षमा हामी छैनौं, पुससम्ममा निर्माण पूरा गरिसक्नुपर्छ ।’
३ अर्ब ८ करोड रुपैयाँ लागतमा निर्माण सक्ने जिम्मेवारी लिएको रमनले हालसम्म वित्तीय प्रगति भने ६८ प्रतिशत गरेको छ ।
पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ मा ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरु गरेका थिए । उक्त अभियानअन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो ।
पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त अभियान चलाएका ओलीले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७५ वैशाख १२ मा धरहरा पुनर्निमार्ण शिलान्यास गरेका थिए । ओलीले नै २०७८ वैशाख ११ मा ७० प्रतिशत निर्माण सकिएको धरहरा उद्घाटन गरेका थिए ।
उद्घाटन समयमा १० महिनापछि २०७८ माघबाट सर्वसाधारणले धरहरा चढ्न पाउने बताइएको थियो । तर, उद्घाटनको डेढ वर्ष र धरहरा ढलेको सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन सकेको छैन ।
निर्माण कार्यमा संलग्न इन्जिनियरहरूका अनुसार पुनर्निर्मित धरहराले १० रिक्टर स्केलसम्मको भूकम्पको धक्का थेग्न सक्छ । बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिने र भित्रबाट भने २२ तलाको छ । यसमा चारवटा लिफ्ट प्रयोग गरेर धरहरा चढ्न पाइने छ । धरहरा २०७२ को विनाशकारी भूकम्पले ढलेको थियो ।